काठमाडौं । काठमाडौं महानगरपालिकाले आन्तरिक उत्पादनको बजारीकरण गर्न हाट बजार सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिकाले दिने स्वरोजगार तालिमपछि उत्पादन हुने वस्तुहरूको लेबलिङसहित हाट बजार सञ्चालनको योजना बनाइएको हो ।
काठमाडौं महानगरपालिकाका श्रम विभागकी उद्योग विकास विश्लेषक तथा सहजकर्ता देवती घिमिरेले महानगरपालिकामा तालिम लिएर स्वरोजगार बनी वस्तु उत्पादन गर्नेहरूको उपज किनेर लेबलिङ सहितको लोकल हाट बजार सञ्चालन गर्ने बताइन् ।
उनका अनुसार उक्त हाट बजार हप्तामा १/२ दिनका लागि मात्र राखिने छ । उक्त हाट बजारले काठमाडौं नगरपालिकामा उत्पादन हुने वस्तुको उत्पादनलाई बजारीकरणको अवसर दिने उनले बताइन् ।
‘हामीले नयाँ उद्यम सिकेर आफ्नै उद्योग गर्ने युवाहरूका लागि यो स्कीम ल्याएका हौँ, हाट बजार सञ्चालन गरेर महानगरले लेबल सहित बेच्ने वातावरण बनाउने हो, हाट बजार कहाँ राख्ने भन्ने निर्णय भएको छैन, यो प्रस्तावित योजना मात्र हो,’ घिमिरेले चाणक्य पोष्टसँग भनिन् ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० हजार बेरोजगारलाई रोजगार तालिम दिई रोजगार उपलब्ध गराउने योजना बनाएको छ । यसका लागि मानगरपालिकाले वडाहरूबाट बेरोजगारको तथ्यांक संकलन गर्ने छ । सोही तथ्यांकको आधारमा रोजगार छनोट गर्ने र तालिम दिने योजना रहेको छ ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार हालसम्म करिब ४५ लाख युवा कामको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न गन्तव्यमा पुगेका छन्। तीमध्ये करिब ९५ प्रतिशत युवा जनशक्ति खाडी मुलुक र मलेसिया पुगेको पाइन्छ।
नेपालको श्रमशक्ति सहभागितादर ७७ प्रतिशत छ । जुन अरू देशको भन्दा बढी मानिन्छ । यो दर भारतमा ४६ र इन्डोनेसियामा ६६ प्रतिशत छ । हालको तथ्यांकअनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ । जसमा १५-२४ वर्ष उमेर समूह पर्दछन् ।