काठमाडौं । उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग बियरको विक्री वितरण रोक्न निर्देशन दिएको छ । ओमले सीजी ब्रुअरीका बोतल अनाधिकृत प्रयोग गरेको भन्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो ।
विभागले ओम ब्रुअरीलाई सीजी ब्रुअरीको बोतल प्रयोग गरी उत्पादन तथा विक्री वितरण गर्न समेत रोक लगाएको हो ।ओम ब्रुअरीले सीजी ब्रुअरीको इम्बोस सहितको बोतल प्रयोग गरी जोमसोम स्ट्रंग बियरको उत्पादन गरेकाले सो कार्य कानुन विपरीत देखिएको भन्दै विभागले अब त्यस्तो नगर्न निर्देशन दिएको हो।
विभागका महानिर्देशक बाबुराम गौतमबाट देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम ओम ब्रुअरी बियरको उत्पादन तथा विक्री वितारणमा रोक लगाउन अन्तरकालीन आदेश जारी भएको बताए ।
यस अघि, सीजीब्रुअरीले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग बियरले नेपाल आइसको बियरको बोतलमा रहेको ‘सीजी ब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकलाई झुक्याउने गरी बोतलहरूमा जोमसोम स्ट्रंग बियरको स्टिकर लगाई विक्री वितरण गरेको र यस कार्यले सीजी ब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातीमा असर पुगेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो ।
‘ओम ब्रुअरीप्रा. लि. ले उजुरिकर्ताको मन्जुरी वेगर सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकित बियरको वोतलमा रहेको ‘सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकलाई झुक्याउने गरी उजुरवालको नाम अंकित वोतलहरूमा जोमसोम स्ट्रंग बियर स्टिकर लगाई आफ्नो उत्पादन उजुरीकर्ताको नाम तथा ट्रेडमार्क अंकित बोतलमा भरी बजारमा विक्री वितरण गर्दै आएको हुँदा सो कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) विपरित देखियो,’ आदेशमा भनिएको छ ।
सीजी ब्रुअरीद्वारा उत्पादित नेपाल आइस बियर नेपाली उपभोक्ता बीच लोकप्रिय ब्राण्ड हो ।