पैसा थुप्रिएपछि बैंकहरूले लिन छाडे सापटी, अन्तर बैंक ब्याजदर डेढ वर्ष यताकै सस्तो

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरूले अन्तर बैंक सापटी लिन छाडेका छन् । लगातार निक्षेप बढ्दै जाँदा र कर्जाको माग नहुँदै पैसा बैंकमै थुप्रिन थालेपछि बैंकहरूले अन्तर बैंक सापटी बन्द गरेका हुन् ।

कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्ने गर्छन् । तर, अहिले आफ्नै बैंकमा पर्याप्त तरलता कायम भएपछि बैंकहरूले अर्को बैंकबाट पैसा सापटी लिन छाडेका हुन् ।

यस्तै, बैंकहरूले कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् । अहिले बैंकिङ प्रणालीमा ३ खर्ब बढी तरलता थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप (सीडी) अनुपात सीमाभन्दा ६ प्रतिशत कम अर्थात् ८४.०१ प्रतिशतमा झरेको छ । यस्तै, प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो दुई सातामै दुई पटक रिभर्स रिपो जारी गरेर तरलता खिचेको छ ।

प्रणालीमा अधिक तरलता भएसँगै अन्तर बैंक ब्याजदर आधाभन्दा धेरैले घटेको छ । गत पुस/माघतिर ८ प्रतिशत माथि पुगेको अन्तर बैंक ब्याजदर अहिले साढे २ प्रतिशत हाराहारीमा झरेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार अन्तर बैंक ब्याजदर २.६५ प्रतिशतमा झरेको छ । यो पछिल्लो डेढ वर्ष यताकै कम हो ।

यद्यपि, अन्तर बैंक ब्याजदर घटे पनी ऋणीले राहत पाउने छैनन् । ऋणीले राहत पाउन बैंकहरूको बेसरेट नै घट्नु पर्ने हुन्छ । बैंकहरूले वैशाखदेखि लगातार कर्जाको ब्याजदर घटाउँदै आएका छन् भने आगामी महिना पनि घटाउने देखिन्छ ।

बचतकर्ताको अर्बाैं ठगेर भागेका शिवशिखरका अध्यक्ष शर्मा पक्राउ Read Previous

बचतकर्ताको अर्बाैं ठगेर भागेका शिवशिखरका अध्यक्ष शर्मा पक्राउ

त्रिभुवन विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागत गर्न ३ जना मात्र जान पाउने Read Next

त्रिभुवन विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागत गर्न ३ जना मात्र जान पाउने