काठमाडौं । विगतका वर्षहरुमा आकर्षक लाभांश दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकले यस वर्ष दिने लाभांश ह्वात्तै घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ४० प्रतिशत लाभांश वितरण गरेको बैंकले यस वर्ष २१ प्रतिशत घटाएर जम्मा १९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार (कार्तिक २७ गते) सम्पन्न ५२२ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १०.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ८.५० प्रतिशत नगद लाभांश गरि कूल १९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन्।
हाल १२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार १०० रुपैयाँ चुक्ता पूँजी रहेको बैंको बोनस वितरण पछि चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५ रुपैयाँ पुग्नेछ।
