काठमाडौं । बैंकिङ प्रणालीमा ब्याजदर सस्तिन थालेको छ । प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर घट्न थालेको हो । एकातिर निक्षेप बढ्दै जानु र अर्कोतर्फ कर्जाको माग नहुँदा प्रणालीमा ब्याज घट्न थालेको हो ।
चालु आर्थिक वर्षको माघ यता बैंकिङ प्रणालीमा लगातार निक्षेप बढिरहेको छ । अहिले बैंकिङ प्रणालीमा ३ खर्ब बढी तरलता थुप्रिएको छ । बैंकहरूले कर्जाको माग बढ्न नसकेपछि राष्ट्र बैंकबाट पाउने स्थायी तरलता सुविधा समेत लिन छाडेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि बैंकिङ प्रणालीमा अधिक तरलता रहेको देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा निक्षेप (सीडी) अनुपात सीमाभन्दा ६ प्रतिशत कम अर्थात् ८३.९७ प्रतिशतमा झरेको छ । यस्तै, प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पछिल्लो दुई सातामै दुई पटक रिभर्स रिपो जारी गरेर तरलता खिचेको छ ।
प्रणालीमा अधिक तरलता भएसँगै अन्तर बैंक ब्याजदर आधाभन्दा धेरैले घटेको छ । गत पुस/माघतिर ८ प्रतिशत माथि पुगेको अन्तर बैंक ब्याजदर अहिले साढे २ प्रतिशत हाराहारीमा झरेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार अन्तर बैंक ब्याजदर २.६० प्रतिशतमा झरेको छ । यो पछिल्लो एक वर्ष यताकै कम हो ।
कर्जाको अधिक माग हुँदा बैंकहरूले एक अर्को बैंकसँग पैसा सापटी लिएर लगानी योग्य रकमको व्यवस्थापन गर्छन् । यस्तोमा एक बैंकले अर्को बैंकलाई ब्याज तिनुपर्दछ ।
यद्यपि, अन्तर बैंक ब्याजदर घटे पनी ऋणीले राहत पाउने छैनन् । ऋणीले राहत पाउन बैंकहरूको बेसरेट नै घट्नु पर्ने हुन्छ । बैंकहरुले वैशाखदेखि लगातार कर्जाको ब्याजदर घटाउँदै आएका छन् भने आगामी महिना पनि घटाउने देखिन्छ ।