काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । हिजो एकैदिन ६२ अंकले बढेको नेप्से आज ११ अंकले बढेको हो । पछिल्ला दुई दिनमै नेप्से ७३ अंकले बढेको हो ।
सूचकमा वृद्धि भए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब १८ करोडले घटेर ५ अर्ब ३१ करोडमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । यसदिन २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ को घटेको छ । माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.९९ प्रतिशतले बढेको छ ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ४२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल २७ करोड र हिमालयन डिस्ट्रीलरी २२ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल, बीपीडब्ल्यू लघुवित्त, सिभिल लघुवित्त र माउन्टेन इनर्जीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।