काठमाडौं । सरकारको उच्च प्राथमिकतामा राखेको पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत आगामी आर्थिक वर्षभित्र तीन खण्डको ठेक्का लगाई काम सुरू गरिने भएको छ ।
८ सडक खण्डमा विभाजन गरी काम भइरहको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत आगामी वर्षभित्रै काकरभिट्टा-लौकही, कमला-बागमती र बुटवल–चनौटा गरी कुल २२३ किलोमिटर सडकको ठेक्का लगाइ काम सुरू गरिने तयारी गरिएको हो ।
हाल दुईलेनमा रहेको यो सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार काकरभिट्टा–लौकही खण्डको ९५ किलोमिटरमा ठेक्का सम्झौता अन्तिम चरणमा रहेको छ । उनले उक्त खण्डमा ठेक्का निर्माण व्यवसायीलाई हस्तान्तरण पछि निर्माणको काम सुरू गरिने छ ।
आयोजनाका अनुसार काँकडभिट्टा–लौकही सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने अनुमानित लक्ष्य छ । ठेक्का पाउने कम्पनीले सम्झौताको समयबाट ३६ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने र थप १२ महिना मर्मतसम्भारको समेत जिम्मा लिनुपर्ने शर्त छ ।
यस्तै, आयोजना अन्तर्गतको पुल निर्माणका लागि भने पाँच वर्ष समयावधि छुट्याइएको छ । त्यसपछिको थप २४ महिनासम्म मर्मतसम्भारको जिम्मा सम्बन्धित निर्माण कम्पनीले लिनुपर्नेछ ।
यसैगरी, कमला–बागमती ७८ किलोमिटर र बुटवल–चनौटा खण्डको ५० किलोमिटर खण्डको ठेक्का र निर्माण प्रक्रिया आगामी आर्थिक वर्षमा सुरू गरिने उनले जानकारी दिए । आव २०८०/८१ भित्र ठेक्का व्यवस्थापन सम्पन्न गरी निर्माण कार्य सुरुआत गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता अधिकारीले बताए ।
सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
३ खण्डमा डिजाइन अन्तिम चरण
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुल २९९ किलोमिटर लम्बाइको तीन खण्डमा सडकको डिजाइन अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
कमला–ढल्केबर–पथलैया खण्डको १३० किलोमिटर, पथलैया नारायणघाट खण्ड १०० किलोमिटर र गोरुसिंगे–चनौटा खण्ड ६९ किलोमिटर सडकको डिजाइन अन्तिम चरणमा रहेको हो । आगामी आर्थिक वर्षभित्रै यी आयोजनाहरुको डिजाइन पूरा गरी ठेक्का आह्वान गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
कमला–ढल्केबर–पथलैया : कमला–ढल्केबर–पथलैया खण्डको १३० किलोमिटर सडकको विस्तृत डिजाइनको काम अन्तिम चरणमा रहेको छ । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्टाटेजिक रोड कनेक्टिभिटि एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार गरिन लागेको हो ।
४ लेनमा बन्ने यो सडकको दायाँबायाँ थप एकएक लेनमा ‘सर्भिस लेन’ निर्माण गरिने छ । विभिन्न स्थानमा सवारीसाधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने योजना रहेको छ । यस सडकमा झण्डै ७६ पुल निर्माण हुने छन् । बागमती, बकैया र कमला खोलामा ३ स्थानमा ‘सिग्नेचर पुल’ निर्माण गरिने भएको छ ।
यस्तै, पथलैया–नारायणघाट खण्ड (१०० किमी) को विस्तृत डिजाइन अन्तिम चरणमा रहेको छ । २०७७ सालमै परामर्शदाता छनोट गरिएको यो खण्डमा आगामी आर्थिक वर्षभित्र निर्माण डिजाइन पूरा गरी ठेक्का आह्वान गर्ने योजना रहेको छ ।
बुटवल–गोरुसिंगे–चनौटा खण्ड ६९ किलोमिटर सडकको विस्तृत डिजाइनको काम अन्तिम चरणमा रहेको छ । यसमध्ये चनौटा–गड्डाचौकी खण्डको अध्धयन कार्य आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै सम्पन्न गरिने योजना रहेको छ ।
दुई खण्डमा धमाधम काम हुँदै
आयोजना अन्तर्गत कंचनपुर–कमलाको ८६ किलोमिटर र नारायणघाट–बुटवलको ११४ किलोमिटर खण्डमा धमाधम विस्तार भइरहेको छ ।
कंचनपुर–कमलाको ८६ किलोमिटर सडक विस्तारको काम भइरहेको छ । ४ लेनमा स्तरोन्नति सहित कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यस आयोजनामा हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा सडक कालोपत्रे गरिँदै ।
कंचनपुर–कमला सडक विस्तार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले यस आयोजनामा हाल पुलको फाउन्डेसन निर्माण गर्ने काम भइरहेको बताए । उनका अनुसार वर्षा अघि २१ वटा पुलको फाउन्डेसन निर्माण भइसक्ने छ । उनले फान्डेसन निर्माण गरेर पोल ठडाएपछि बाढिले क्षती नपुर्याउने बताए । २०२३ को अक्टोबर २८ सम्म म्याद रहेको यस आयोजनामा म्याद थपका लागि तयारी भइरहेको उनले जानकारी दिए ।
सुस्त गतिमा काम भइरहेको नारायणघाट–बुटवल ११४ किलोमिटर सडकको ४ वर्षमा २५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७५ माघ २४ देखि निर्माण सुरू गरिएको यो सडक दुईखण्डमा विभाजन गरी काम भइरहेको छ । यो सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको छ ।
नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत सानाठूला गरी कुल ३० वटा पुलहरु निर्माण भइरहेका छन् । आयोजना अन्तर्गत ९ वटा ठूला र २१ वटा साना पुलहरु रहेका छन् । ठूला मध्ये ६ वटा पुल निर्माणाधिन अवस्थामा रहेको छ । त्यसमध्ये ३ वटा पुलको पिल्लर गाड्ने काम सकेको छ । अन्य ३ वटा पुलको पोल बनाउने काम भइरहेको छ ।