काठमाडौं । रोजगारीमा जाने नेपालीको संख्या घटे्सँगै विदेशबाट भित्रिने रेमिट्यान्स पनि घटेको छ । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा रोजगारीको लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २.१ प्रतिशतले कमी आएको छ ।
चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत नयाँ) लिनेको संख्या ५७ हजार ४ सय ८९ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५८ हजार ६ सयभन्दा बढी विदेशिएका थिए ।
यस्तै, चालू आवको तीन महिनामा रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ०.९ प्रतिशतले घटेको छ । यस अवधिमा ५० हजार ८ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
विदेशिनेको संख्या घटेसँगै रेमिट्यान्समा पनि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको अनुसार चालू आवको पहिलो दुई महिनामा विदेश गएका नेपालीहरुले पठाउने रेमिट्यान्समा ४७ करोडले घटेको छ । भदौ मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.३ प्रतिशतले कमी हो । गत वर्ष यस अवधिमा १ खर्ब ५४ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।