काठमाडौं । सरकारले विदेशबाट ल्याउने सुन तथा तथा चाँदीमा लाग्ने भन्सार दर बढाएको छ ।मन्त्रिपरिषद्को कात्तिक १८ गते बसेको बैठकले विदेशबाट फर्केका यात्रुले ल्याउने सुन र चाँदी तथा गहनामा लाग्ने भन्सार महशुल बढाएको हो ।
सरकारले प्रति १० ग्रामसम्म सुनमा १ हजार ३ सय र चाँदीमा २४ रुपैयाँ भन्सार महशुल बढाएको हो । ५० ग्रामसम्मका सुनका गहनामा कुनै पनि शुल्क नलाग्ने भए पनि ५० ग्राम देखि १०० ग्रामसम्मका सुनका गहनामा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ भन्सार महशुल तोकिएको छ।यसअघि सोही परिमाणको सुनका गहनाको भन्सार दर ७ हजार २ सय थियो।
यस्तै १०० ग्रामभन्दा बढी अर्को थप १०० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको दश हजारका दरले महशुल तोकेको छ। यसअघिको महसुलमा सरकारले हजार रुपैयाँ बढाएको हो।यस्तै, व्यापारिक रुपमा कारोबार गर्न ल्याइने सुनमा भने प्रति १० ग्राम ६ हजार ५ सय तोकिएको छ। यसअघि त्यसको दर ५ हजार थियो।
विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा भने ५० ग्रामसम्मको लागि प्रति १० ग्रामलाई ७ हजार ५ सय तिर्नु पर्नेछ।यसअघि सोही परिमाणको भन्सार महसुल ६ हजार २ सय थियो।
त्यस्तै, ५० देखि बढी थप ५० ग्रामसम्मको लागि भने प्रति १० ग्रामको ८ हजार ५ सय रुपैयाँ भन्सार दर निर्धारण गरिएको छ।यसअघि सोही परिमाणको सुनको महसुल ७ हजार २ सय थियो।यस्तै १० ग्रामसम्म चाँदी ल्याउँदा ५६ रुपैयाँको सट्टा अब ७५ रुपैयाँ तिर्नु पर्ने भएको छ।