दुईटा उद्योगले मात्र बेच्ने कम्पोजिट सिलिण्डरमा ८३% भन्सार छुट, भाउ सस्तिने दाबी

काठमाडौं । सरकारले खाना पकाउने (एलपी) ग्यास भर्ने कम्पोजिट सिलिण्डरमा लाग्ने करको दरमा भारी छुट दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कम्पोजिट सिलिण्डरमा लाग्ने भन्सारदर ८३.३३ प्रतिशतले घटाएको हो ।

कम्पोजिट सिलिण्डरमा यसअघि ३० प्रतिशत भन्सार लाग्दै आएकोमा २५ प्रतिशत विन्दुले घटाएर ५ प्रतिशतमा झारिएको छ । आम उपभोक्ताले प्रयोग गर्दै आएको फलामको सिलिण्डरमा १५ प्रतिशत भन्सार लाग्ने भए पनि कम्पोजिटको ५ प्रतिशतमा झारिएको हो ।

भन्सार घटाएर सरकारले फलामेभन्दा कम्पोजिट सिलिण्डरमा लाग्ने कर कम बनाएको छ । कम्पोजिट र फलामे दुवै सिलिण्डरमा समान ५ प्रतिशत अन्तःशुल्क लाग्छ । यसरी सामान्य फलामे सिलिण्डरमा भन्सार र अन्तःशुल्क गरी कुल २० प्रतिशत कर लाग्ने गरेको छ भने अब कम्पोजिटमा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क गरी १० प्रतिशत मात्रै कर लाग्छ ।

नेपालमा कम्पोजिट सिलिण्डर नेपाल ग्यास र वान ग्यासले मात्र बेच्दै आएका छन् । दुईटा उद्योगले मात्र बेच्ने सिलिण्डरमा भारी छुट दिएपछि कतै मिलेमतोमा भन्सार छुट दिइएको त होइन भन्ने आशंक समेत गरिएको छ ।

सरकारले भने फलामे सिलिण्डरको तुलनामा निकै सुरक्षीत रहेको कम्पोजिट सिलिण्डरका भाउ घटाउन भन्सार छुट दिइएको बताएको छ । भन्सार छुटपछि कम्पोजित सिलिण्डरको भाउ करिब २५ प्रतिशत सस्तिने बताइएको छ ।

कति महँगो छ कम्पोजिट सिलिण्डर ?

सामान्य फलामे सिलिण्डरको तुलनाको कम्पोजिट सिलिण्डरको मूल्य साढे दुई गुणाले बढी छ । फलामे खाली सिलिण्डरको मूल्य २ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म रहेको छ भने कम्पोजिटको ५ हजार रुपैयाँ पर्ने व्यवसायी बताउँछन् ।

नेपाल ग्यास बुद्धनगर डिलरका सञ्चालक गोपाल राजभण्डारीले हाल ग्यासहितको कम्पोजिट सिलिण्डरको बजार मूल्य झण्डै ७ हजार रुपैयाँ रहेको बताए । उनले यसको खाली सिलिण्डरको मूल्य मात्र ५ हजार रहेको बताए ।

उनका अनुसार कम्पोजिट सिलिण्डर २ वटा साइजमा रहेको छ । उनले ५ केजी र १४ केजीको साइजमा विक्री भइरहेको छ । १४ केजीको ग्याससहितको सिलिण्डर किन्दा ७ हजार रुपैयाँ पर्छ भने ५ केजीको सिलिण्डर किन्दा ३ हजार २०० रुपैयाँसम्म पर्ने उनले बताए ।

उनका अनुसार विशेष गरी साना सिलिण्डर ट्रेकिङका लागि लामो यात्रामा जानेहरूले किन्ने गरेका छन् । ठूला सिलिण्डरको माग समेत विस्तारै बढ्दै गएको उनले बताए ।

बजारमा यस्ता कम्पोजिट सिलिण्डर ५ हजारको संख्यामा रहेको छ । फलामको सिलिण्डर डेढ करोड रहेका छन् । खिया नलाग्ने, हलुका र विष्फोट हुने खतरा नभएकोले महंगै भए पनि यसको माग विस्तारै बढेको उनले बताए ।

‘यो अलि महंगो नै छ, त्यसैले धेरै बिक्री हुँदैन, सानो खालको ट्रेकिङ जानेहरूले किन्छन्, ठूलो पनि विस्तारै मान्छेहरूले किन्न थालेका छन्,’ राजभण्डारीले चाणक्य पोष्टसँग भने ।

महँगो भए पनि सुरक्षीत छ

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले यो ग्यास सिलिण्डर महंगो भए पनि सुरक्षाको आधारमा निकै उपयुक्त हुने बताए । उनले यो प्लाष्टिकको भएकोले आगलागी हुँदा विष्फोट नहुने बताए ।

‘यो फलामको सिलिण्डरभन्दा अलि महंगो नै हो, त्यसैले यसको धेरै डिलर छैन, २ वटा कम्पनीले मात्र यो विक्री गर्दै आएका छन्,’ ठाकुरले चाणक्य पोष्टसँग भने ‘यो भन्सार कर घटेपछि यसमा २५ प्रतिशत मूल्य घट्ने छ ।

के हो कम्पोजिट सिलिण्डर ?

मटेरियल फाइबर र प्लाष्टिकबाट बनेको कम्पोजिट सिलिण्डर विष्फोटरहित रहेको छ । खाना पकाउन प्रयोग हुने यो ग्यास सिलिण्डरको उत्पादन खर्च महंगो हुने भएकाले यसको मूल्य बढी पर्ने व्यवसायी बताउँछन् ।

आगो लाग्दा विष्फोट नहुने भएकाले यो सिलिण्डर सुरक्षीत मानिएको छ । यस्ता सिलिण्डर पारदर्शी हुने भएकाले ग्राहकहरूले आफ्नो सिलिण्डरमा रहेको एलपीजी ग्यासको मात्रा हेर्न सक्छन् । यो सिलिण्डरहरूमा ग्यास चुहावट पत्ता लगाउन सकिन्छ ।

 

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

३ कम्पनी मर्ज भई बनेको हिमालयन लाइफको सेयर नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ? Read Next

३ कम्पनी मर्ज भई बनेको हिमालयन लाइफको सेयर नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?