काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबार २६ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको हो ।
पछिल्ला ३ कारोबार दिनमा नेप्से ४३ अंकले घटेको छ । प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा दबाब परेको हो ।
।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ ।
बुधबार नेप्से परिसूचक १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा आइपुगेको छ । यसदिन २७१ कम्पनीको ८६ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.८४ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे २३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सोल्टी होटल १९ करोड र हिमालयन डिस्ट्रीलरी १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा ग्रीन भेन्चर्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, मेन्छियाम हाइड्रोपावर ५.४८, मानुषी लघुवित्त ५.४१ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.११ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले घटेको बजारमा आज सिटी होटलको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।