काभ्रेका झन्डै डेढ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

काभ्रे । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४०.१२ प्रतिशत अर्थात् १ लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या ३ लाख ६४ हजार ३९ मध्ये ७० हजार ६१७ पुरुष र ७५ हजार ४०० महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन् ।

हालसम्म बनेपा नगरमा २९ हजार २६६, धुलिखेल नगरमा २८ हजार ९००, पनौती नगरमा २४ हजार ७०१ जना, पाँचखाल नगरमा १७ हजार ५६२ र मण्डनदेउपुर नगरमा १३ हजार ४३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

यस्तै नमोबुद्ध नगरमा ९ हजार २५३, रोशी गाउँपालिकामा ७ हजार ९०२, तेमालमा २ हजार २९३, महाभारतमा १ हजार ५१६, चौँरीदेउरालीमा २ हजार ७, भुम्लुमा ५ हजार ४९०, बेथानचोकमा दुई हजार ८५२ र खानीखोला गाउँपालिकामा ८९९ नागरिकले स्वास्थ्य बीमामा गराएका हुन् ।

बोर्डका अनुसार कूल विमितमध्ये आठ हजार आठ सय ७१ ज्येष्ठ नागरिक, दुई सय १२ एचआइभी सङ्क्रमित, तीन हजार एक सय १३ पूर्णअपाङ्गता भएका व्यक्ति, एक सय ५१ कुष्ठरोगी र आठ कडा खालको क्षयरोग लागेका व्यक्ति तथा दुई हजार छ सय ७३ महिला स्वास्थ्य स्वयम्सेविका छन् ।

सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा गर्दा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकको निःशुल्क, पूर्ण अपाङ्गता भएका, कुष्ठरोगी र एचआइभी सङ्क्रमितका परिवारलाई बीमा रकममा शतप्रतिशत छुट दिँदै आएको छ । काभ्रेपलाञ्चोकमा विसं २०७६ भदौ २४ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक सहयोगीका दरले १३५ सहयोगी खटाइएका छन् ।

जिल्लामा धुलिखेल सामुदायिक अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमितलाई उपचार सुविधा उपलब्ध गराइएको छ ।

त्रिभुवन विमानस्थलमा अहिलेकोभन्दा ३ गुणा ठूलो टर्मिनल बनाइँदै, डिजाइन हुँदै Read Previous

त्रिभुवन विमानस्थलमा अहिलेकोभन्दा ३ गुणा ठूलो टर्मिनल बनाइँदै, डिजाइन हुँदै

मधेस र बागमती प्रदेशले आफ्नै बैंक खोल्ने Read Next

मधेस र बागमती प्रदेशले आफ्नै बैंक खोल्ने