काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालकोभन्दा झन्डै तीन गुणा ठूलो टर्मिनल भवन बनाइने भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ नयाँ टर्मिनल भवन बनाउने भएको हो ।
बढ्दो हवाई यात्रु र उडान–अवतरणको चाप धान्न प्राधिकरणले पूर्वाधार विस्तारको योजना अघि बढाएको हो । हालको टर्मिनल भवनको क्षेत्रफल ३३ हजार स्क्वायर मिटर छ । अन्तर्राष्ट्रिय हवाई सङ्गठन (आइसीएओ)को मापदण्ड अनुसारका हवाई यातायात सुविधाको भौतिक सुधार अन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब १ लाख वर्गमिटर क्षेत्रफल ओगट्ने छ ।
नयाँ टर्मिनल भवनको डिजाइनका काम भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नयाँ टर्मिनल भवन बनाउन अहिले नक्साको काम भइरहेको बताए । अन्तर्राष्ट्रिय स्तरमा ठेक्का आह्वान गरेर निर्माण गरिने भएकाले भवन बनाउन भने समय लाग्ने उनले बताए ।
‘अहिले नक्सा बनाउने र त्यसलाई पास गर्ने काममा लागि रहेका छौँ, त्यसपछि आगामी आर्थिक वर्षभित्र ठेक्का निकालेर काम सुरू गर्नेछौँ,’ उनले चाणक्य पोष्टसँग भने ।
अन्तर्राष्ट्रिय स्तरको उक्त टर्मिनल भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा ठेक्का लगाउने प्राधिकरणको तयारी रहेको छ । गुरुयोजना अनुसार हाल निगम र सेनाको ह्याङ्गर भएको क्षेत्रलाई खाली बनाएर नयाँ अन्तर्र्राष्ट्रिय टर्मिनल भवन निर्माण गर्ने योजना बनाएको छ ।
तीन वर्ष भित्र दुवै ह्याङ्गर स्थान्तरण गरी अत्याधुनिक टर्मिनल भवन निर्माणको काम सुरू गर्ने योजना रहेको छ । नयाँ अन्तर्र्राष्ट्रिय टर्मिनल भवनसँगै पहुँच मार्ग, छ वटा बोर्डिङ ब्रिज, बोइङ ७७७, एयरबस ३३० लगायत कोड ई सिरिजको ६ देखि १२ वटा न्यारोबडी जहाज पार्किङ क्षमता विकास गरिने योजना रहेको छ ।
करिब ६० अर्ब रुपैयाँको लागत अनुमान रहेको यो नयाँ अन्तर्र्राष्ट्रिय टर्मिनल भवन निर्माणपछि हाल संचालित अन्तर्र्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिकको रूपमा प्रयोग गरिने छ ।
नयाँ टर्मिनल भवनमा ६ वटा बोर्डिङ ब्रिज, कमर्सियल स्पेस, बिजनेस लाउन्ज, ड्युटी फ्री सप लगायतको सुविधा रहने छ । स्टिल स्ट्रक्चरमा निर्माण गरिने नयाँ टर्मिनल भवन अत्याधुनिक सुविधायुक्त रहने जनाइएको छ।
प्राधिकरणका अनुसार नयाँ टर्मिनल भवन विमानस्थलको उत्तरपट्टी रहेको जग्गामा निर्माण गरिनेछ । नयाँ टर्मिनल भवनको डिजाइन फ्रेन्च कम्पनी एडीपीआइले गरेको हो । यो कम्पनीले सन् २०१६ मै नयाँ विमानस्थलको डिजाइन तयार गरेर प्राधिकरणलाई बुझाएको थियो ।
हाल संचालित टर्मिनल भवनबाट वार्षिक ३० लाख यात्रुले सेवा लिँदै आएका छन् । नयाँ टर्मिनल भवन संचालनमा आएसँगै वार्षिक १ करोड यात्रुले सेवा लिन सक्ने छन् ।