काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा १३.३८ प्रतिशत अर्थात ७ करोड ७८ लाख रुपैयाँले बढी हो । बैंकले गत वर्षको समीक्षा अवधिमा ५८ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । प्राइमको तीन महिना अवधिको वितरणयोग्य मुनाफा २२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
असोज मसान्तसम्ममा बैंकको निक्षेपभन्दा कर्जा विस्तार बढी रहेको छ । ७८ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७९ अर्ब १३ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको जगेडा कोष ३ अर्ब २० करोड ८५ लाख र सेयरधनी कोषमा १ अर्ब ९३ करोड ३० लाख रुपैयाँ रहेको छ ।९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी २.२६ रुपैयाँले बढेर २७.२४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३.०८ रुपैयाँ रहेको छ।
असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा ९ प्रतिशतले बढेर एक अर्ब ६ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ।
यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १.१४ प्रतिशत, पूँजीकोष अनुपात १२.७५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.८६ प्रतिशत, आधारदर ९.६७ रहेको छ ।