महंगो बन्दै भान्सा : आलु र प्याजपछि खाने तेलको मूल्य बढ्ने

काठमाडौं । सरकारले २०८०/०८१ को वजेट मार्फत १ प्रतिशत भन्सार महशुल लाग्दै आएको खाने तेलको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल कायम गरेपछि मूल्य वृद्धि हुने भएको हो ।

सरकारले आयात हुने आलू र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै आमनागरिकको भान्सा महंगो बन्ने चर्चा चलिरहेको समयमा खाने तेलमा पनि मूल्य बढ्ने भएको हो ।

वनस्पति घ्यू तेल उत्पादक संघका सचिवालय प्रमुख दिवाकरराज पाण्डेले खाने तेलको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुुल र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत गरी कुल २५ प्रतिशत हाराहारी कर पुग्ने भएपछि मूल्य बढ्ने बताए । उनका अनुसार यसले स्वदेशी उद्योगहरुको उत्पादन लागतमा वृद्धि हुनेछ ।

नेपालमा अर्जेन्टीना, ब्राजील, इटाली, पाराग्वे, थाइल्याण्ड, यूक्रेन, अमेरिका, भेतनाम, इन्डोनेसिया, मलेशिया, भारत, रोमनिया, रसिया, टर्कीलगायतका देशहरुबाट खाने तेलका कच्चा पदार्थहरु आयात भएको भन्सार विभागले जनाएको छ ।

सरकारले गत भदौमा खाने तेलको मूल्य आकाशिएपछि २०७९ भादौ २३ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी १० प्रतिशत कायम रहेको भन्सार महशुललाई १ प्रतिशतमा झारेको थियो । अहिलेको बजेटले फेरी १० प्रतिशत नै भन्सार महशुल कायम गरेपछि मूल्य बढ्ने भएको हो ।

सरकारले भन्सार कर बढाएपछि भारतवाट अनाधिकृत रुपमा छ्यापछ्याप्ति कम गुणस्तरका तेल आउने भन्दै पाण्डेले भने, ‘सरकारको राजश्व र स्वदेशी उद्योगमा गम्भिर असर पर्नेछ । भन्सार कर महशुल नघटाए खाने तेलको मूल्यमा उपभोक्ताले प्रति लिटर १५ रुपैयाँभन्दा बढि मूल्य तिर्नु पर्ने हुन्छ ।’

त्यसैगरी तोरीको दानाको आयातमा पनि भन्सार महशुल १ प्रतिशतबाट वढाएर ५ प्रतिशत पुर्याइएको छ ।

चालु आर्थिक वर्षमा मात्र ७५ अर्ब ६ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको ४० करोड ८४ लाख ९३ हजार ७८० केजी/लिटर बराबरको खाने तेल तथा वनस्पति घ्यूको कच्चा पदार्थ आयात भएको छ । यसरी हेर्दा खाने तेल तथा त्यसको कच्चा पदार्थ १८४ रुपैयाँ प्रति लिटर/केजीमा आयात भएको देखिन्छ ।

चालु आवको सोही समयावधिमा २७ अर्ब २८ करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरको खाने तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो रकम बराबरको १२ करोड २३ लाख ३७ हजार ८९ लिटर खाने तेल निर्यात भएको हो । निर्यात हुने खाने तेल २२४ रुपैयाँ प्रतिलिटरमा देशबाहिर पठाइने गरेको छ ।

यसरी देशमा अधिक मात्रामा खाने तेल तथा खाने तेलका कच्चा पदार्थ आयात भएता पनि ३६ प्रतिशत मात्र निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा अर्जेन्टीना, ब्राजील, इटाली, पाराग्वे, थाइल्याण्ड, यूक्रेन, अमेरिका, भेतनाम, इन्डोनेसिया, मलेशिया, भारत, रोमनिया, रसिया, टर्कीलगायतका देशहरुबाट खाने तेलका कच्चा पदार्थहरु आयात भएको भन्सार विभागले जनाएको छ ।

भैरहवा एयरपोर्टबाट मलेसिया उडान सुरु, टिकट झण्डै आधा सस्तो Read Previous

भैरहवा एयरपोर्टबाट मलेसिया उडान सुरु, टिकट झण्डै आधा सस्तो

तीन महिनापछि सेयर बजारले पार गर्‍यो २ हजारको विन्दु, कारोबार पनि बढ्यो Read Next

तीन महिनापछि सेयर बजारले पार गर्‍यो २ हजारको विन्दु, कारोबार पनि बढ्यो