काठमाडौं । सरकारले आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेसँगै मूल्य ह्वात्तै बढ्ने भएको छ । बजारमा बजेट लगत्तै आलु र प्याजको मूल आकाशिएको छ भने आगामी दिनमा झनै बढ्ने व्यवसायीहरू बताउँछन् ।
सरकारले आर्थिक विधेयकमार्फत आलु र प्याजमा भ्याट लगाएसँगै मूल्य मूल्य एकतिहाई (करिब ३३ प्रतिशत)का दरले महंगिने उनीहरूकाे भनाइ छ ।
नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गलत भएको बताए । उनले अर्थमन्त्री प्रकास सरन महतको यो घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको बताए ।
‘आलु र प्याज जस्तो वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने छ, हामी यसको घोर विरोध गर्छौं,’ उनले भने ‘हचुवाको निर्णय लिँदा वषौंदेखि व्यवसाय गरिरहेकाहरू व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको छ ।’
हाल आलुप्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर तिर्दै आएको उनले बताए । उनले यस्तो अवस्थामा थप १३ प्रतिशत भ्याट बुझाउनु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दैनिक भान्सामा लाग्ने खर्च बढाउनु रहेको बताए ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याज लगायतका कृषि उपजमा मूल्य अभिबृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु प्याजको व्यवसाय गर्नेहरू भ्याटको दायरामा आएका छन् ।
चालु आवको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस्तै ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ । आलु प्याजमा भ्याट लाग्ने भएपछि व्यवसायीहरू बजेट वक्तव्ययता कारोबार नै नगरी बसेका छन् ।
मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरू) अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरूको सूचीमा आलु तथा प्याज रहँदै आएकामा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो ।