आन्तरिक द्धन्दले थिचिएको महासंघ र शेखर गोल्छाले झेल्नु पर्ने चुनौति

‘अकुपाई टुँडिखेल’ नामको अभियान शुरु भएको छ । हाम्रो पुर्खाहरुले सहरको बीचमा खाली ठाउँको महत्व बुझेर आफ्नो व्यक्तिगत जमिन सार्वजनिक प्रयोजनको लागि छोडेर रानीपोखरीदेखि दशरथ रङगशालासम्मको जमिनलाई टुँडिखेल बनाइएको थियो ।

 

तर, कालान्तरमा जब राज्यको गिद्धे नजर यसमा पर्यो, जनताको नाशो र काठमाडौंको ‘फोक्सो’ को रुपमा रहेको टुँडिखेल मिचियो र हाल एक चौथाईमा आएर खुम्चिएको छ । र, यसैबीच जनता आफ्नो नाशो राज्यबाट फिर्ता लिन शान्तिपूर्ण आन्दोलनमा उत्रेका छन् ।

 

दूर्भाग्यवश यो संस्था हाँक्ने व्यक्तिहरु वा हाँक्न तम्सिनेहरुलाई नै आफ्नो संस्थाको सैद्धान्तिक अवधारणाका बारेमा कुनै सुँइको छैन । उनिहरु आन्तरिक द्धन्दमा सधै रहन्छन् र संस्थाको हितका विषयमा सोच्नसमेत भ्याउँदैनन् ।

 

यो घटनाले स्थापित गरेको सत्य के हो भने राज्य र जनताबीच जहिल्यै द्धन्द्धात्मक सम्बन्ध हुन्छ । राज्यले जहिल्यै जनताको हितमा मात्रै काम गर्छ भन्ने हुँदैन र जनताको राज्यसँगको सामूहिक सौदाबाजी (कलेक्टिभ बार्गेनिङ) गर्ने क्षमता जति बढी भयो उती राज्य जनता प्रति उत्तरदायी हुँदै जान्छ ।

 

के हो राज्य ?

 

समाजशास्त्री म्याक्स वेबरको शब्दमा भन्ने हो राज्य त्यस्तो राजनीतिक संरचना हो, जसले हिंसाको प्रयोगको आधिपत्य लिएको हुन्छ र आफ्नो क्षेत्राधिकार भित्र अरुलाई हिंसा गर्न दिँदैन । यसैगरी माक्र्सवादीहरु बुर्जुवाको निजी सम्पत्ति र अतिरिक्त नाफाको सुरक्षाको खातिर निर्माण गरिएको संरचनालाई नै राज्यको रुपमा बुझ्छन् ।

 

‘आधुनिक राज्यको कार्यकारीहरु भनेका अरु केही नभएर समग्र बुर्जुवाहरुको साझा मुद्दाको रक्षार्थ खटिएको कमिटि हो,’ माक्सले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’मा लेखेका छन् ।

 

राज्यलाई बुझ्ने अर्को अवधारणा भनेको सामाजिक सम्झौता (सोसल कन्ट्रयाक्ट) पनि हो । यसका अनुसार राज्य र जनताको सम्बन्ध भनेको एउटा सम्झौता हो, जहाँ व्यक्तिले आफ्ना केही स्वतन्त्रताहरुलाई राज्यसामु बिसाइदिन्छ र त्यसबापत राज्यले उसलाई बाँकी रहेको अधिकारको प्रयोग गर्ने प्रत्याभूति दिन्छ ।

 

राज्यका यी अवधारणाले प्रस्ट पार्ने तथ्य के हो भने जनता र राज्यबीच द्धन्द्धात्मक सम्बन्ध हुन्छ र जो बलियो भयो उ हावी हुने परिस्थिति हुन्छ ।

 

राज्य संगठित हुन्छ भने जनता असंगठित । त्यसैले संगठित राज्यसँग सामूहिक सौदाबाजी गरेर आफ्नो धेरै भन्दा धेरै हक अधिकार स्थापित गर्नका लागि जनताको स्तरबाट विभिन्न क्षेत्र केन्द्रित संस्थाहरुको निर्माण गरिएको हुन्छ ।

 

उद्योग वाणिज्य महासंघ

 

उद्योग वाणिज्य महासंघ पनि निजी र व्यवसायीक क्षेत्रका जनाताको चासोलाई राज्यबाट सम्बोधन गराउनका लागि जनताद्धारा निर्माण गरिएको त्यस्तै खाले संस्था हो । तर, दूर्भाग्यवश यो संस्था हाँक्ने व्यक्तिहरु वा हाँक्न तम्सिनेहरुलाई नै आफ्नो संस्थाको सैद्धान्तिक अवधारणाका बारेमा कुनै सुँइको छैन । उनिहरु आन्तरिक द्धन्दमा सधैं रहन्छन् र संस्थाको हितका विषयमा सोच्नसमेत भ्याउँदैनन् ।

 

यो संस्थाले निजी क्षेत्र र देशभर छरिएर रहेका उद्योगी व्यवसायीहरुलाई समेट्न, प्रोत्साहन गर्न व्यवसायीहरुको सुरक्षा गर्न, सहज र प्रभावकारी कर प्रणालीको लागि पहल गर्नका लागि कुनै काम गर्न सकेको छैन । जनताको पक्षबाट सौदाबाजी गर्नका लागि शक्ति आर्जन गर्न पनि सकेको छैन ।

 

किन यो संस्था यति कमजोर छ ?

 

जब जब यो संस्थाको बारेमा समाचारहरु आउँछन्, ती समाचारहरु माथि उल्लेख गरिएका यो संस्थाले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा आएका हुँदैनन् । यो संस्थाको राजनीतिको कारणले आएका हुन्छन् ।

 

राज्य अत्यन्तै चतुर संस्था हो । यसले सबैलाई आफूजस्तै बनाएर आफ्नो शक्ति बढाउन चाहन्छ । त्यसैले राज्य संरचना चलाउनका लागि गरिने चल्तीको राजनीति जहाँ पनि घुसाउन खोजिहाल्छ ।

 

उदाहरणको लागि, गाँउको खानेपानी बाँड्ने योजनामा पनि आफ्ना ‘एजेन्ट’हरु मार्फत त्यस्तै राजनीति गराउँछ । नेपालमै नबस्ने एनआरएनहरुका बीच पनि त्यस्तै राजनीति गराउँछ । जो कोहीले पनि आफूजस्तो जति धेरै व्यक्ति वा संस्थाहरु बढाउन सक्यो त्यक्ति शक्तिशाली बन्ने हो ।

 

नेपाल उद्योग वाणिज्य महासंघलाई आन्तरिक द्धन्दमा फसाएर आफ्नो सिमित स्वार्थ पूरा गर्न केही उद्योगी व्यापारी लाग्दा त्यसको ठूलो मूल्य समग्र निजी क्षेत्रले चुकाउनु परेको छ ।

 

जनताको हितको लागि जनताको मुद्दासहित व्यवसायीक संरचना निर्माण गरेर र जनताबाटै शक्ति आर्जन गरेर राज्यसँग सामूहिक सौदाबाजीमा उत्रनु पर्ने संस्था जब राज्यकै जस्तो राजनीतिक संरचना र प्रणालीको भूमरीमा फस्छ र राज्यकै एउटा खेताला अंग जस्तो बन्छ तब यस्ता संस्था भुत्ते हुनु वा स्वतन्त्र अस्तित्व नै समाप्त हुनु नौलो होइन ।

 

नेपाल उद्योग वाणिज्य महासंघमा देखिएको अहिलेको राजनीति भनेको नेपाल राज्यको छत्र छायाँमा बसेको उसैको अनुहार बोकेको तर, उ भन्दा कमजोर र पुड्को संस्था हो । र, यस्तो संस्थाको नेतृत्वमा बस्नु भनेको महासंघमा फोटो झुण्ड्याउनु, भिजिटिङ कार्ड बनाउनु, प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी हुनु, आफ्नो व्यक्तिगत व्यवसायलाई नाफा हुने केही सामान्य डिलहरु गर्नु र राज्यका मानिसहरुका अगाडि परालको जस्तो लुलो खुट्टा लिएर उभिनु हो ।

 

महासंघको विगत र शेखरको चुनौति

 

नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा ठूलो समस्या भनेको चरम राजनीति र कमजोर सचिवालय हो । सचिवालयलाई कमजोर बनाउन व्यवसायीक चरित्र कम तर राजनीतिज्ञ धेरै लाग्ने व्यवसायीक नेताहरुले नै मूख्य भूमिकामा रहँदै आउनु हो ।

 

व्यवसायीक हितको लागि भन्दा पनि आफ्नो निहित स्वार्थमा फसेका व्यवसायी नेताहरुकै कारण विगतदेखि नै राजनीतिज्ञहरुले उनिहरुको आपसी द्धन्द्धमा खेल्ने गरेका हुन् । राजनीतिक नेतृत्वले महासंघजस्तै काम र विचार लिएर खुलेका चेम्बर अफ कर्मश र सिएनआई जस्ता संस्थालाई विगतदेखि नै अगाडि सार्दै वैचारिक द्धन्द्धात्मक अवस्था सृजना गरेका हुन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघलाई आन्तरिक द्धन्दमा फसाएर आफ्नो सीमित स्वार्थ पूरा गर्न केही उद्योगी व्यापारी लाग्दा त्यसको ठूलो मूल्य समग्र निजी क्षेत्रले चुकाउनु परेको छ ।

 

महासंघको विशेष साधारण सभा स्थगन भएसँगै शेखर गोल्छा स्वत अध्यक्ष हुने भएका छन् । तर, उनको लागि यो अध्यक्षको पद निकै चुनौतिपूर्ण हुनेछ । अहिले केही साथीहरुलाई दिएको आस्वासन अनुसार उनले काम गर्न सकेनन् भने त्यो उनको लागि निकै कठिन खुड्किलो बन्न सक्छ भने उनको विरोधमा उत्रनेले सहयो गर्ने अवस्था बन्न कठिन छ । यस्तोमा केही महासंघका सदावार राजनीतिज्ञको व्यवस्थापन पनि निकै चुनौतिपूर्ण रहने छ ।

 

विगत केही कार्यकालमा महासंघको उपस्थिति कमजोर भएको विषय सबैसामु प्रस्ट छ । यस्तोमा निजी क्षेत्रलाई एकतावद्ध गर्दै चेम्बर, सिएनआई जस्ता संस्थासँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नु गोल्छाको लागि कम्ती चुनौतिपूर्ण छैन ।

 

अन्तमा, यदि यो संस्थालाई बलियो बनाउनु छ भने जनताको संस्था र राज्यबीचको द्धन्द्धात्मक सम्बन्ध बुझ्नु, जनताको स्तरबाट शक्ति आर्जन गर्नु र राज्यको राजनीतिक छायाँबाट उम्कनुको विकल्प छैन ।

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई  पक्राउ गर्न अदालतको आदेश Read Previous

ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश

लक्ष्मी बैंकको खुद मुनाफा साढे ३२ प्रतिशतले बढ्यो Read Next

लक्ष्मी बैंकको खुद मुनाफा साढे ३२ प्रतिशतले बढ्यो