काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो मुनाफा गत आवको यसै अवधिको तुलनामा ३२.६५ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले धेरै हो। बैंकले गत वर्षको समीक्षा अवधिमा ३० करोड ३० लाख नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख र सेयरधनी कोषमा एक अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म बैंकले निक्षेप संकलन २.३४ प्रतिशतले वृद्धि गरि ८२ अर्ब २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले कर्जा परिचालनतर्फ ४.८० प्रतिशतले बढोत्तरी गर्दै ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ।
यस अवधिमा बैंकले ८६ करोड ५७ लाख ९२ हजार खुद ब्याज आम्दानी र ५८ करोड ९६ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँले बढेर १८.०२ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४५.९४ रुपैयाँ रहेको छ ।
त्यसैगरी बैंकको निष्कृय कर्जा अनुपात १.५० बाट घटेर १.०४ प्रतिशतमा, आधार दर ११.२८ बाट घटेर १०.२४ प्रतिशतमा सुधार भएको छ ।
बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।