 
			काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ति प्रक्रियामा गई आगामी असार भित्रै एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई थप ६ वटा सुविधा दिने भएको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गाका लागि जारी गरेको ‘एकीकृत निर्देशन २०७९’ संशोधन गर्दै २०८० असारसम्म एकीकृत कारोबार गर्ने बैंकहरूलाई थप आधा दर्जन सुविधा दिने घोषणा गरेको हो ।
‘वाणिज्य बैंकहरू एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ,’ एकीकृत निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार असार भित्रै एकीकृत कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि १ वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट, एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय पाउने छन् ।
त्यसैगरी, मर्जर प्रक्रियामा रहेका संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन १ वर्षको समय पाउने, प्रति संस्था निक्षेप संकलन सीमामा १ वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबारपछि १ किलोमिटर भित्र रहेका शाखा गाभ्न १ वर्षसम्म राष्ट्र बैंकको स्वीकृति लिन नपर्ने जस्ता सुविधा पाउने भएका हुन् ।
राष्ट्र बैंकले यसअघि पनि बैंक दतथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्दै विभिन्न १ दर्जन छुट तथा सुविधा दिएको थियो ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                