काठमाडौं । एलिट क्यापिटलले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्सको सेयर अण्डरराइटिङ (धितोपत्र प्रत्याभूति) गर्ने भएको छ ।
बुधबार एलिट क्यापिटल र रिलायबल लाइफ बीच यस सम्बन्धि सम्झौता भएको हो । सम्झौता पत्रमा रिलायबल लाइफका सीईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे ।
एलिटले रिलायबलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले अंकित मूल्य रू. १०० मा थप रू. ११२ प्रिमियम थपेर प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आइपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।
विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आइपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आइपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी रू. २ अर्ब पुर्याउनका लागि रू. ६० करोड बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।