सार्वजनिक संस्थानको नाफा ९४% घट्यो, धेरै कमाउने प्राधिकरण, डुबाउने निगम

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानहरुको खुद नाफामा उच्च गिरावट आएको छ । सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८०’ अनुसार अघिल्लो आवको तुलनामा आव २०७८/७९ मा सार्वजनिक संस्थानको खुद नाफा ९४.१५ प्रतिशतले घटेको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार आव २०७८/७९ मा सार्वजनिक संस्थानहरुले कुल १ अर्ब ५४ करोड मात्र खुद नाफा कमाएका छन् । जबकि अघिल्लो आवमा सार्वजनिक संस्थानहरुले कुल २६ अर्ब ३५ करोड खुद नाफा कमाएका थिए ।

गत वर्ष सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय सुरुआती अवस्थामै रहेको छ ।

घाटा बेर्होर्नेमा सबैभन्दा धेरे उद्योग र व्यापार क्षेत्रका संस्थानहरु रहेका छन् । सञ्चालनमा लापरवाही, आम्दानीमा गिरावट, प्रशासनिक खर्च वृद्धि, लागत वृद्धि लगायत कारणले सार्वजनिक संस्थानहरुको नाफामा भारी गिरावट आएको हो ।

वर्षैंदेखि रुग्ण उद्योगको सञ्चालन लागत मात्र लाग्ने तर, ती कम्पनीबाट प्राप्त प्रतिफल शून्य भएकाले पनि कम्पनीले ठूलो आर्थिक क्षति बेहोरिहरेका छन् । घाटामा रहेका यी संस्थानहरु सञ्चालनका लागि सरकारले नै ऋण दिएर कर्मचारीलाई तलब खुवाइरहेको छ ।

समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् ।गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको देखिएको छ ।

गत वर्ष सार्वजनिक संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरणले सबैभन्दा धेरै १३ अर्ब ३७ करोड खुद नाफा कमाएको छ भने नेपाल आयाल निगम सबैभन्दा धेरै ३८ अर्ब १७ करोड घाटामा छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय रू ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई रू ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ९४.१५ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७८/७९ मा नोक्सानी समेतलाई समायोजन गर्दा रू १ अर्ब ५४ करोड २० लाख कायम भएको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/७९ मा जम्मा रू ६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले कम हो ।

सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले कमी आई रू १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १७६.८ प्रतिशतले बढेर रू ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ । सबै संस्थानको सञ्चित नाफामा ४२.९० प्रतिशतले कमी आई रू ५२ अर्ब ४० करोड ७८ लाख पुगेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

 

 

नेप्सेमा थप  १ कराेड २८ लाख कित्ता बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप १ कराेड २८ लाख कित्ता बोनस सेयर सूचीकृत

आज आगामी आर्थिक वर्षको बजेट आउँदै Read Next

आज आगामी आर्थिक वर्षको बजेट आउँदै