अष्ट्रेलिया उडान गर्न नेपाल एयरलाइन्सले पायो अनुमति, साढे ११ हजारमै मलेसिया

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

‘आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ,’ उनले भने । उडानका लागि निगमले हाल जीएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।

त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

मलेसिया–भैरहवा ११ हजार ४६१ मै उडाउने

वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रबर्द्धनात्मक भाडादर रु ११ हजार ४६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

‘मलेसिया-भैरहवा-काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ,’ निगमका सहायक प्रवक्ता घिमिरेले भने। उनका अनुसार मलेसिया-भैरहवाका लागि रु ११ हजार ४६१ र मलेसिया-भैरहवा-काठमाडौँका लागि रु १२ हजार ३४६ भाडादर कायम गरिएको छ ।

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ ।

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा Read Previous

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित) Read Next

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)