काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर भएको छ । बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा प्रहरी हिरासतमा रहेका १६ र फरार रहेका १४ गरी ३० जना विरुद्ध मुद्दा दायर भएको छ ।
अभियुक्तहरूविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरुद्धको अपराध गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । साथै, २८ करोड ८१ लाख ७४ हजार रुपैयाँ बिगो माग गरिएको छ ।
अभियोगपत्रमा मुलुकी अपराध संहिताको दफा ४३ को एकीकृत कसुर, दफा ५१ को राष्ट्रिय हितविपरीतको कसुर, दफा २४९ को ठगीको कसुर, दफा २७६ को सरकारी लिखत किर्तेसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ बमोजिमको संगठित अपराध भएको दाबीसहित मुद्दा दायर भएको उल्लेख छ ।
मुद्दा दायर गरिएकाहरूमा पक्राउ परेकाहरु पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृह मन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा.ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमसेर मिया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ, गोबिन्द कुमार चौधरी, रामशरण केसी र पूर्वसभासद आङटावा शेर्पा रहेका छन् ।
त्यसैगरी, फरार रहेकाहरू केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरले, धिरेन राई, दिपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापलाई पनि प्रतिवादी बनाइएको छ।