चिनी आयातमा उच्च गिराट, उत्पादन वृद्धि कि तस्करी मौलायो ?

काठमाडौं । चिनी आयातमा उच्च गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो ३ वर्ष यता चिनी आयात लागातार घटिरहेको हो ।

चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) मात्रै चिनी आयात झन्डै आधाले घटेको छ । गत वर्षको वैशाख मसान्तसम्म ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको १२ करोड ३५ लाख केजी चिनी आयात भएकोमा चालु वर्षको सोही अवधिमा ४ अर्ब ४५ करोडको ५ करोड ७९ लाख केजी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

यस अवधिमा साढे ६ करोड केजीले चिनी आयात घटेको देखिन्छ । चिनी निर्यातमा भारतको कडाइ, आर्थिक सुस्तताले भएको माग संकुचन र सरकारले केही वस्तु आयातमा लगाएको प्रतिबन्धले भन्सार छली भएर आयात वृद्धि हुँदा आयात घटेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आन्तरिक रुपमा उखु उत्पादन घट्दो क्रममा छ । तर, माग वृद्धि हुँदा समेत आयात भने बढेको देखिँदैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराई चिनी निर्यातमा भारतको प्रतिबन्ध, नेपाल सरकारको कडाइका कारण आयात घटेको बताउँछन् ।

‘चिनी निर्यातमा भारतको प्रतिबन्ध, नेपाल सरकारको कडाइ लगायत विभिन्न कारणले आयात घटेको हो,’ उनले चाणक्य पोष्टसँग भने, ‘आन्तरिक उत्पादनमा खासै वृद्धि नभए पनि माग धानिरहेको देखिन्छ ।’

भन्सार छलेर आयात भयो भन्दा पनि नियन्त्रणमै रहेको उनको दाबी छ । ‘हामीले भन्सार छलेर आयात भइरहेको छ भन्दा पनि नियन्त्रणमै छ भन्ने बुझ्नु पर्छ । यसमा विस्तृत अध्ययन त भएको छैन । तर, समग्रमा हेर्दा आन्तरिक उत्पादनले नै माग पूर्ति गरिरहेको अवस्था हो,’ उनले भने ।

चिनी उत्पादक संघका महासचिव राजकुमार अग्रवाल चिनीको उत्पादनमा वृद्धि हुँदा आयात घटेको दाबी गर्छन् । ‘अहिले उत्पादन बढेकै छ ।

अघिल्लो वर्षको भन्दा यो वर्ष ४०/४५ प्रतिशतले वृद्धि हुने देखिन्छ,’ उनले भने, ‘हामीले कृषि मन्त्रालयलाई त्यसको तथ्यांक उपलब्ध गराउँदै आएका छौं । आन्तिरक उत्पादनले नै माग धान्ने अवस्थामा पुग्ने देखिन्छ ।’

खुला सीमानाका कारण भन्सार छलेर हुने आयात रोक्न नसकिने उनले बताए । ‘चोरी पैठारी भएर पनि अलिअलि आएकै देखिन्छ । यसलाई खुला सीमाका कारण रोक्नै नसकिने अवस्था छ । तर, सरकारको यही नीति रह्यो भने अबको केही वर्षभित्रै चिनी उत्पादनमा हामी आत्मनिर्भर हुन्छौं,’ उनी भन्छन् ।

सरकार र चिनी उत्पादकहरूले उत्पादन वृद्धि भइरहेको दाबी गरे पनि तथ्यांकले भने उखु उत्पादन नै घट्दै गएको देखाउँछ । कृषि मन्त्रालयका अनुसार आव २०७५/७६ मा ३५ लाख मेट्रिकटन उखु उत्पादन भएकोमा २०७६/७७ सम्म आउदा घटेर ३४ लाख मेट्रिकटन उत्पादन भएको थियो ।

२०७७/७८ सम्म घटेर ३१.८३ मेट्रिकटनमा खस्किएको तथ्यांक छ । २०७८/७९ पनि उत्पादन घटेको ३१.५९ मेट्रिकटन कायम भएको छ ।

आयात घटेर चार वर्षअघिकै अवस्थामा

चालु वर्षमा चिनी आयात घटेर चार वर्षअघिकै अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०७६/७७ यता उच्च आयात भएको चिनी र चिनीजन्य वस्तुहरूको यस वर्ष भने नाटकीय गिरावट आएको छ ।

आव २०७५/७६ मा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको ३ करोड ८१ लाख केजी आयात भएकोमा वृद्धि भएर २०७६/७७ मा ४ अर्ब २७ करोड रुपैयाँ बराबरको ७ करोड १७ लाख केजी चिनी आयात भएको थियो ।

२०७७/७८ मा झण्डै तीन गुणाले आयात वृद्धि भएको देखिन्छ । यस वर्ष १२ अर्ब रुपैयाँ बराबरको २३ करोड केजी चिनी आयात भएको थियो । विभागका अनुसार २०७८/७९ मा ४ अर्ब ४५ करोड बराबरको १२ करोड केजी चिनी आयात भएको थियो ।

 

 

सेयर बजारमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

सेयर बजारमा उछाल, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित Read Next

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित