काठमाडौं । सेयर बजारमा उछाल आएको हो । गत मंगलबारदेखि लगातार बढिरहेको नेप्से आज उच्च अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि ठूलो बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९२ करोडले बढेर २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । उत्पादनमूलक उपसमूहको परिसूचक सबैभन्दा धेरै ४.०५ प्रतिशतले बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकम झन्डै ९ करोड र एनआइसी एशिया बैंकको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, कालिका लघुवित्त र खप्तड लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।