बैंक तथा वित्तीय संस्थाको निक्षेपमा नयाँ रेकर्ड, सीडी रेसियो सीमाभन्दा निकै तल

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब पुग्दै अहिलेसम्मकै धेरै निक्षेपको रेकर्ड बनाएको हो ।

जेठ ५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब २ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा मात्रै ४८ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । यस्तै, विकास बैंक र फाइनान्स कम्पनीमा ६ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

पछिल्लो ५ महिनामा मात्रै बैंकिङ प्रणालीमा २ खर्ब निक्षेप थपिएको छ । बैंकमा पैसा थुप्रिने क्रम बढे पनि कर्जा लगानी भने सुस्त रहेको छ ।

जेठ ५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकले ४२ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइनान्सले ५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा लगातार निक्षेप थपिरहने तर कर्जा लगानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८४.७२ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ ।

बैंकमा लगानीयोग्य रकम बढे पनि अन्तर बैंक ब्याजदर भने घटेको छैन । हाल अन्तर बैंक ब्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

कन्ट्री रेटिङ यथाशिघ्र गर्नुको विकल्प छैन : पूर्व गभर्नर क्षेत्रीको विचार Read Previous

कन्ट्री रेटिङ यथाशिघ्र गर्नुको विकल्प छैन : पूर्व गभर्नर क्षेत्रीको विचार

बैंकिङ कसुर र आर्थिक अपराध बढ्दो, चालु वर्षमा साढे ५ हजार मुद्दा दर्ता Read Next

बैंकिङ कसुर र आर्थिक अपराध बढ्दो, चालु वर्षमा साढे ५ हजार मुद्दा दर्ता