काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा ५ हजार ३१२ मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार चालु आर्थिक वर्षमा काठमाडौँमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौँमा दर्ता भएका ९ हजार २५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए।
‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए । पछिल्लो समय काठमाडौँमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ ।
परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहार सम्बन्धी २ हजार ८, विविध अपराध ५७५, चोरीसम्बन्धी कसुर ४४५, लागुऔषध २६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २५७, आत्महत्यासम्बन्धी कसुर २३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर १४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।
परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा ४ हजार ३४३ मुद्दा दर्ता भएका थिए ।