के कृत्रिम भिटामिनबिना पनि हाम्रो शरिरको काम चल्छ ? यस प्रश्नको उत्तर, ‘सकिन्छ’ भनेर पनि दिन सकिन्छ तर त्यसका लागि तपाईं हामीले गर्ने भोजन ‘सन्तुलित’ हुनुपर्छ । जसमा पर्याप्त मात्रामा फलफूल र हरिया सागसब्जी समावेश हुनुपर्छ ।
विगतमा डाक्टरहरुले प्रायःजसो केही निश्चित भिटामिन र खनिजका गोली/चक्की/क्याप्सुल दैनिक सेवन गर्न सल्लाह दिने गरेका थिए । प्रारम्भिक अध्ययनबाट ती भिटामिनबाट फाइदा नै हुने देखिएका थिए भने त्यति महँगा पनि थिएनन् । उदाहरणका लागि फोलिक एसिड र भिटामिन बीलाई लिन सकिन्छ । दुवैले मुटुसम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सरको जोखिम न्यून पार्ने काम गर्दछ ।
तर, अहिले गरिएका विभिन्न अध्ययन अनुसन्धानले सन्तुलित भोजन गर्नेहरु स्वस्थ व्यक्तिलाई यस्ता भिटामिन र खनिजका चक्की/गोली/क्याप्सुलले खासै फाइदा नगर्ने निष्कर्ष निकालेका छन् ।
पछिल्लो समय हाम्रो शरीरका लागि आवश्यक भिटामिन, खनिजजस्ता पोषक तत्व पाउने सबैभन्दा उपयुक्त तरिका भोजन नै भएकोमा विशेषज्ञहरु एकमत भएका छन् । उनीहरु भन्छन् यसका लागि सन्तुलित भोजन गर्नु आवश्यक छ ।
अर्को शब्दमा हामीले स्वस्थ रहन पर्याप्त मात्रामा फलफूल, हरिया सागसब्जी, गेडागुडी र होल ग्रेन (चामल, गहुँ, कोदो, मकैजस्ता अन्न) भोजन गर्नु आवश्यक छ । यी खानेकुरामा हाम्रो शरीरलाई चाहिने विभिन्न भिटामिन, खनिज र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छन् । र, यी खानेकुराले शरीरलाई आवश्यक पोषण दिन्छन् ।
विशेषज्ञहरुका अनुसार सन्तुलित भोजनका माध्यमबाट शरीरले आवश्यक पोषण लिँदा यसको ‘सिनर्जिक इफेक्ट’ (बढी प्रभावकारी) हुन्छ । उनीहरु कुनै एउटा भिटामिन वा खनिजको चक्की खाँदाभन्दा यसरी भोजनबाट एकसाथ पाइने धेरै प्रकारका पोषक तत्वको बढी असर हुने बताउँछन् ।
त्यसमाथि कतिपय भिटामिन एकसाथ खाँदा बढी प्रभावकारी हुन्छन् वा छिटो असर पर्छ । उदाहरणका लागि क्याल्सियम र भिटामिन डी एकसाथ खाँदा बढी लाभदायक हुन्छ । किनभने क्याल्सियम पचाउन र काम गर्न भिटामिन डी चाहिन्छ ।
यसको अर्थ यसरी भिटामिन वा अन्य पोषक तत्वका चक्की वा गोली खानै हुँदैन भन्ने होइन, बरु यस्ता चक्की वा गोली खानुभन्दा भोजनमा त्यस्ता भिटामिनयुक्त खानेकुरा वा फलफूल वा सागसब्जी समावेश गरे त्यसको प्रभाव धेरै हुन्छ भन्ने मात्र हो ।
भिटामिन खानुपर्ने अवस्था
विभिन्न रोग लागेका वा थप भिटामिन वा खनिज आवश्यक भएका व्यक्तिले भिटामिन वा खनिजका चक्की÷गोली सेवन गर्नुपर्ने विशेषज्ञहरु बताउँछन् । जस्तो कि गर्भवतीले दैनिक ४ सय एमजी(माइक्रोग्राम) फोलिक एसिड सेवन गर्नु पर्छ । पर्याप्त फोलिक एसिडले गर्भको शिशुको स्नायु प्रणालीलाई रोगमुक्त बनाउँछ ।
त्यसैगरी घाममा शरीर वा छालामा घामै नपर्नेहरुलाई भिटामिन डीको कमी हुनसक्छ । यस्तो बेला शरीरमा भिटामिन डीको कमी पूर्ति गर्न भिटामिन डी खानुपर्छ । खासमा हाम्रो शरीरमा भिटामिन डी निष्क्रिय रहन्छ र हाम्रो छालामा घाम परेपछि मात्र सक्रिय हुन्छ र काम गर्छ ।
उत्तरी गोलाद्र्धका बासिन्दाले करिब ९ महिना पर्याप्त घाम पाउँदैनन्, फलस्वरुप भिटामिन डीको कमी हुनसक्छ । घामले चाँडै बुढ्यौली निम्त्याउने र परावैजनी किरण (अल्ट्रा भ्वाइलेट रे) ले छालाको क्यान्सर हुनसक्ने भन्दै डाक्टरहरुले पनि हामीलाई सकेसम्म घामबाट जोगिने सल्लाह दिन्छन् र हामी आफूलाई घामबाट बचाउँछौ ।
परिणामस्वरुप भिटामिन डीको कमी हुनसक्छ । यस्तो बेला भिटामिन डी सेवन गर्नुपर्ने हुन्छ ।दृष्टि क्षमतामा कमी हुँदै जाने वा दृष्टि धमिलिँदै जाने तथा अन्त्यमा अन्धोपन हुने ‘माकुलर डिजेनेरेसन’जस्ता रोगको रोकथाम गर्न यस्ता भिटामिन सेवन गर्नुपर्ने हुन्छ । माकुलर डिजेनेरेसनलाई एज रिलेटेड माकुलर डिजेनेरेसन (एएमडी वा एआरएमडी) पनि भनिन्छ । खासगरी यो दृष्टिरोग उमेर बढ्दै जाँदा लाग्ने रोग हो ।
त्यसैगरी पूर्ण शाकाहारी र भेगनहरुले पनि भिटामिन बी सेवन गर्नुपर्छ । उनीहरुले आइरन चक्की पनि सेवन गर्नुपर्छ । भोजनमा पर्याप्त भिटामिन र खनिजलगायत पोषक तत्व छैन जस्तो लागे वा कमी हुँदा पनि भिटामिनका चक्की सेवन गर्नुपर्छ ।
थोरै क्यालोरीयुक्त भोजन गर्नेहरुका लागि प्रचुर मात्रामा भिटामिन/खनिजयुक्त केही खानेकुरा (फलफूल र सागसब्जीलगायत) यसप्रकार छन्:
एभोकाडो, रायो तथा तोरीको साग, पालुंगोलगायत हरिया सागसब्जी, भिँडेखुर्सानी, सानो बन्दागोभी, च्याउ, उसिनेको आलु, सुठुनी, सखरखण्ड, मेवा, स्ट्रबेरी, ऐंसेलु, काफल, जामुनु, चिल्लो कम भएको दही, अण्डा, विभिन्न बिउहरु जस्तै (सूर्यमुखी, फर्सी, आलस र तिल), विभिन्न गेडागुडी र सिमी (राजमा, चना, काबुली चना, बोडीलगायत), दाल र केराउ, बदाम (बदाम, काजु, किसमिस), जौका परिकार (ओट्स) र ब्राउन राइस, विभिन्न माछाहरु, न्यून मात्रामा बोसो भएको मासु, कुखुरा र टर्कीको मासु ।