झापामा फोहरबाट बायोग्यास उत्पादन सुरू, एपी ग्यासभन्दा सिलिण्डरमा रू. १५० सस्तो पर्ने

झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् ।

कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिकरुपमा बायोग्यास वितरण गरिने बताए । यहाँ उत्पादित बायोग्यासको सिलिन्डर उद्योग र होटलमा बढी उपयोगी हुने उनको भनाइ थियो ।

उक्त कम्पनीमा रु २२ करोड लगानी हुने र ६० प्रतिशत लगानी तीन वटै पालिकाले व्यहोर्ने सहमति भएको छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु ५ करोड ४६ लाख अनुदान दिएको बताइएको छ ।

ती तीनवटै नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहर प्रयोग गरेर उक्त कम्पनीले बायोग्यास उत्पादन गर्ने भएको हो । हाल परीक्षणका लागि स्थानीय जङ्गलमा पाइने झारपातलाई समेत प्रयोगमा ल्याइएको छ । त्यहाँ बायोग्याससँगै जैविक मलसमेत उत्पादन गरिने भएको छ । नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने उक्त कम्पनीको योजना छ । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर रु १५० सस्तो पर्ने अध्यक्ष तिम्सिनाको जिकिर थियो ।

४ हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा १हजार २०० घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उनले बताए । विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले यसप्लान्टबाट ग्यास उत्पादन सुरु भए पनि बजारीकरणका लागि छलफल भइरहेको बताए ।

उनले तीनैवटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना सुनाए। ‘फोहरलाई मोहर बनाउने परियोजना हो यो,’ नगरप्रमुख प्रसाईंले भने, ‘बिर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।’

सो ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उनले बताए । यसैगरी मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकालाई पनि फोहरमैला व्यवस्थापनका लागि यस कम्पनीसँग सहकार्य गराउन छलफल भइरहेको नगरप्रमुख प्रसाईंले जानकारी दिए ।

हाल जैविक मलसमेत उत्पादन भइरहेकाले यसलाई प्रयोग गर्न उचित भए नभएको जाँच गर्नका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको समितिका अध्यक्ष तिम्सिनाले बताए ।

बक्यौता बुझाउन कोषको ३ दिने अल्टिमेटम, नबुझाए सम्पत्ति जफत गर्ने चेतावनी Read Previous

बक्यौता बुझाउन कोषको ३ दिने अल्टिमेटम, नबुझाए सम्पत्ति जफत गर्ने चेतावनी

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी