काठमाडौं । ९० करोड रुपैयाँ लगानीमा ६ वटा कृषि उद्योग खुल्ने भएका छन् । चालु आर्थिक वर्षको वैशाखसम्म ६ वटा कृषि उद्योग दर्ता भएका हुन् ।
उद्योग विभागका अनुसार ती उद्योगले कुल ९० करोड ७७ लाख रुपैयाँ लगानी गर्ने छन् । चालु आवमा दर्ता भएका ६ वटा कृषि उद्योगमध्ये ४ वटा स्वदेशी लगानी र २ वटा विदेशी लगानीका रहेका छन् ।
विभागका अनुसार दर्ता भएका उद्योगले पशु तथा कुखुराको दाना उत्पादन, दुग्धजन्य वस्तु उत्पादन र मासु प्रशोधन गर्नेछन् ।
सुनसरीको कोशी गाउँपालिकामा गौरी शंकर एग्रो इण्डष्ट्रि प्रालिले दाना उद्योग खोल्दै छ । उक्त कम्पनीले ११ करोड २० लाख रुपैयाँ लगानीमा उक्त दाना उद्योग सञ्चालन गर्न लागेको हो ।
यस उद्योगले वर्षेनी १० हजार मेट्रिकटन पोल्ट्री दाना उत्पादन गर्ने छ । गाई वस्तुको दाना ५ हजार माछाको दाना ५ हजार मेट्रिकटन उत्पादन गर्ने छ । यो उद्योग सञ्चालनमा आएपछि ५२ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।
यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा विशेष आर्थिक क्षेत्र भित्र सुलभ कृषि कम्पनीले दुग्ध जन्य वस्तु उत्पादन गर्ने भएको छ । ८ करोड ५० हजार रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यस कम्पनीले वर्षेनी १ हजार २०० टन दुग्धजन्य वस्तु उत्पादन गर्ने छ । साथै कम्पनीले हर्बल उत्पादन पनि गर्ने जनाइएको छ ।
यसैगरी, बाँकेको बैजनाथ गाउँपालिकामा मध्यपश्चिम फिड इण्डष्ठिट्रज कम्पनीले दाना उत्पादन गर्ने भएको छ । २५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको उक्त कम्पनीले वर्षेनी २६ हजार मेट्रिकटन दाना उत्पादन गर्ने छ ।
बर्दियाको बढैयातालमा अल इसरा फुड प्रोडक्टस् प्रालिले मासु प्रशोधन उद्योग सञ्चालन गर्ने भएको छ । १६ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइने यस उद्योगले वर्षेनी ५ हजार टन मासु र ६ हजार ५०० टन हड्डि उत्पादन गर्ने छ । यस कम्पनीले ४२ जनालाई रोजगार प्रदान गर्ने जनाइएको छ । यो उद्योग ९३.७५ प्रतिशत वैदेशिक लगानी र ६.२५ प्रतिशत नेपाली लगानीमा सञ्चालनमा आउन लागेको हो ।
यस्तै, नुवाकोटको ककनी पालिकामा सुप्रिम हाइजेनिक ग्रुपले मासु प्रशोधन उद्योग सञ्चालन गर्ने भएको छ । २२ करोड २७ लाख ५८ हजार रुपैयाँ लगानीमा सञ्चालनमा आउन लागेको यस उद्योगले वर्षेनी ६ हजार ५०० टन मासु उत्पादन गर्ने भएको छ ।
यसैगरी, मनास्लु कफी ट्रेडिङ्ग प्रालिले धादिङको नेत्रावतीमा ४ करोड रुपैयाँ लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउने भएको । उक्त उद्योगले वर्षेनी ९० मेट्रिकटन कफीको दाना उत्पादन गर्ने छ । वैदेशिक लगानीमा सञ्चालनमा आउन लागेको यस कम्पनीले सञ्चालनपछि २५ जनालाई रोजगार प्रदान गर्नेछ ।