बंगलादेश विद्युत निर्यातमा भारत तगारो, त्रिपक्षीय संयन्त्र बनाउन पहल

काठमाडौं । नेपालको विद्युत खरिदका लागि बंगलादेशले चासो देखाए पनि भारत बाधक बनेको छ । वर्षायाममा मागभन्दा बढी उत्पादन हुने विद्युत तेस्रो मुलुक निर्यातका लागि भारतले अनुमति नदिँदा खेर जाने गरेको छ ।

अन्तरदेशीय प्रसारणलाइनको संरचना निर्माण तथा प्रयोगको अनुमति नदिँदा नेपालको तेस्रो मुलुक विद्युत निर्यातमा भारत तगारो बनेको हो । मंगलबार बंगलादेशमा सम्पन्न नेपाल र बंगलादेशको सचिवस्तरीय बैंठकले नेपालको ४० मेघावाट विद्युत बंगलादेशले लैजान सहजिकरण गर्ने निर्णय गरेको छ ।

त्यसका लागि नेपाल विद्युत प्राधिकरण, एनटिपीसि विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड बीच विद्युत बिक्री सम्झौता गर्ने छन् । गत भदौमा नेपाल र बंगलादेशबीच विद्युत खरिद् बिक्रीका लागि समझदारी भएको थियो ।

नेपाल र बंगलादेशको सचिवस्तरीय चौथो बैंठकले भारतको संरचना प्रयोग गरेर विद्युत खरिदबिक्री गर्ने र त्यसका लागि दुवै देशले भारतसँग छलफल गर्ने निर्णय गरेको थियो । तर, भारतले भने अझै नेपाल–बंगलादेश विद्युत व्यापारका लागि अनुमति दिइसकेको छैन ।

त्रिपक्षीय संयन्त्रका लागि पहल

नेपालबाट तेस्रो देश विद्युत निर्यातका लागि भारत हुँदै अन्तरदेशीय प्रशारणलाइनको आवश्यकता पर्छ । उक्त प्रसारणलाइन निर्माणको लागि नेपाल–बंगलादेश उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैंठकले उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्न दुवै पक्षबाट पहल गर्ने निर्णय गरेको छ ।

नेपाल, भारत र बंगलादेश बीच विद्युत क्षेत्रमा सहकार्यका लागि त्रिपक्षीय संयन्त्र स्थापना गर्न पहल गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता एवं प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।

उक्त संयन्त्रको सहजिकरण पछि भारतको भूमि हुदै अन्तरदेशीय प्रसारलाइन निर्माणका लागि बाटो खुला हुनेछ । यसले नेपाल र बंगलादेशबीच सिधै विद्युत खरिद बिक्रीको बाटो खुला गर्ने अपेक्षा गरिएको छ ।

९० करोड लगानीमा ६ कृषि उद्योग खुल्दै, २ वटामा विदेशी लगानी Read Previous

९० करोड लगानीमा ६ कृषि उद्योग खुल्दै, २ वटामा विदेशी लगानी

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत