विदेश जानेको लर्को, ९ महिनामै ६ लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आवको नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता ५ लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी कुल ६ लाख २ हजार १५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनःश्रमस्वीकृति लिनेको सङ्ख्या हो ।

प्रत्येक दिन २ हजार बढीले श्रम स्वीकृति लिने गरेका छन् । गत साउन महिनामा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मङ्सिरमा ६८ हजार ५६४, पुसमा ६५ हजार ४६४, माघमा ६४ हजार २८४, फागुनमा ६१ हजार ८४५ र चैत महिनामा ६१ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ ।

सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) का लागि श्रम स्वीकृति जारी भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । चैतसम्म ३ लाख ८७ हजार ८३९ ले नयाँ संस्थागत तथा व्यक्तिगत श्रम स्वीकृति र २ लाख १७ हजार ९५९ जनाले पुनःश्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै विप्रेषण आप्रवाहमा पनि सुधार देखिएको छ । चालु आवको ९ महिनामा रु ९ खर्ब ३ अर्ब ३९ करोड विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले बढी हो ।

कालिञ्चोक दर्शनको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ? Read Previous

कालिञ्चोक दर्शनको नाफामा छलाङ, प्रतिसेयर आम्दानी कति ?

बाहिरी चक्रपथकाे बजेट : कर्मचारी पाल्न पुग्छ, काम गर्न छैन Read Next

बाहिरी चक्रपथकाे बजेट : कर्मचारी पाल्न पुग्छ, काम गर्न छैन