काठमाडौं । कालिञ्चोक दर्शन प्रालिको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४५.४२ प्रतिशतले बढेको छ ।
कम्पनीले चालु आवको चैत मसान्तसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७१ लाख बढी हो । गत वर्ष चैतसम्म कम्पनीले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफा बढेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.९८ प्रतिशतले बढेर ५ करोड ३७ लाख पुगेको छ ।
त्यस्तै, कुल आम्दानी १६.८१ प्रतिशतले बढेर ४ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ९७.४५ प्रतिशतले बढेर १ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
हाल ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने १ करोड ७२ लाख रुपैयाँ ऋणात्मक छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ७१ पैसाले बढेर ५.०५ रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९९.३६ गुणा छ ।