काठमाडौं । उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न भन्दै ३ दशक अघिदेखि अघि सारिएको बाहिरी चक्रपथ आयोजना अझै चर्चामा मात्रै सीमित छ । सरकारको दृढ इच्छाशक्तिको अभाव र प्राथमिकतामा नपर्दा आयोजनाले अझै मूर्त रुप पाउन नसकेको हो ।
२०५० सालदेखि चर्चामा ल्याइएको सो आयोजनाको डीपीआर भएकै १६ वर्ष बितिसकेको छ । २०६४ सालमा डीपीआर गरिए पनि हालसम्म लगानीको मोडलसम्म टुंगिन नसक्दा आयोजना अघि बढ्न सकेको छैन ।
पछिल्लो समय बढ्दो घनावस्ती, जग्गा अधिग्रहणमा समस्या, बढ्दो मुआब्जा लागत, स्रोत सुनिश्चितता नहुनु, अलायमेन्ट रिभाइज गर्नेपर्ने लगायत कारणले आयोजना नै अन्योलमा परेको छ ।
सरकारले आयोजनाका नाममा बजेट छुट्याउन थालेकै १५ वर्ष बिते पनि अझै काम भने अघि बढ्न सकेको छैन । सरकारले हरेक वर्ष न्यून बजेट छुट्याउने गरेको छ । सो रकम कर्मचारीको तलबभत्तामा खर्च हुने र बाँकी रकम वर्षेनी फ्रिज हुने गरेको छ ।
आयोजना अघि बढाउने हो भने वर्षेनी अर्बौं बजेट आवश्यक पर्छ । तर, सरकारले नाम मात्रको बजेट अर्थात् लाखमा बजेट विनियोजन गर्दै आएको छ । लाखमा आएको बजेट कर्मचारीको तलबमै खर्च हुने गरेको आयोजनाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा यस योजनाका लागि ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । झिनो बजेट र सरकारको प्राथमिकतामा पर्न नसकेको यो योजना नाममा मात्र सीमित रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी तथा इन्जिनीयर सौरव ढकालले बताए ।
उनका अनुसार हरेक वर्ष विनियोजन भएको बजेट कर्मचारी खर्च कटेर फिर्ता जाने गरेको छ । ‘यो नामको मात्र योजना हो, न सरकारले काम गर्ने जति बजेट दिन्छ, न खारेज नै गर्छ, कर्मचारी र कार्यलयको खर्च बाहेक सबै पैसा सधै फ्रिज हुँदै आएको छ,’ ढकालले चाणक्य पोष्टसँग भने ।
सरकारले २०६५ देखि भौतिक निर्माणका लागि भन्दै वार्षिक २५ लाख बढी दरले बजेट विनियोजन गर्दै आइरहेको छ । आयोजनामा बजेट आकार सानो हुँदा कुनै पनि गति दिन सकिएको छैन । गत आर्थिक वर्ष २०७८/७९ मा आयोजनाका लागि सरकारले चालूतर्फ ५५ लाख र विकासतर्फ २६ लाख बजेट विनियोजन गरेको थियो । यो बजेट कर्मचारी खर्च बाहेक अन्य फ्रिज हुँदै आएको छ । ३ जना इन्जिनियरसहित १० जना कर्मचारी छन् ।
सो समयमा आयोजना सम्पन्न गर्न ४३ अर्ब रुपैयाँ लागत अनुमान गरेको थियो । अहिले यसको लागत बढेर १ खर्ब १५ अर्ब पुगेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । डीपीआर बनेको १५ वर्ष भइसकेको छ । यति लामो समयसम्म कुनै प्रकृया अघि नबढ्दा डीपीआर डिजाइन भएका स्थानहरू घरले भरिएका छन् ।
प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘एलाइमेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रकृया सुरू गरिएको छैन । उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।
बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य प्रारम्भ गरिने बताइएको थियो । बजेट भाषण मार्फत घोषणा भएको यो आयोजना झण्डै ३ दशक बित्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।
ठोस योजना र बजेट बिना आयोजना घोषणा गर्दा प्रगति हुन सकेन
पूर्वाधार विज्ञ राजेन्द्र अधिकारी उचित प्लानिङ र बजेट सुनिश्चिता बीना आयोजना अघि बढाउन खोज्दा कुनै पनि प्रगति हुन नसकेको बताउँछन् । उनले सरकारको अव्यवस्थित काम गर्ने शैलीकै कारण धेरै योजनाहरू सुरू हुनुअघि अलपत्र पर्ने गरेको बताए । उनले अब बाहिरी चक्रपथ निर्माण गर्न रिडिजाइनबाट सुरू गर्नुपर्ने बताए ।
‘सरकारको अव्यवस्थित काम गर्ने तरिकाले उपलब्धी केही हुन नसकेको हो, बिना प्लानिङ, बजेट सुनिश्चित नगरी भाषणको भरमा मात्र योजना बनाएर हुँदैन,’ अधिकारीले चाणक्य पोष्टसँग भने ‘यसको अब फेरि रिडिजाइन हुनुपर्छ, पुरानै डिजाइनमा निर्माण सम्भव छैन ।’
लामो समयदेखि बजेटको स्रोत सुनिश्चित गर्न नसक्दा यो आयोजना अन्यौलमा परेको छ । उनले निर्माण सुरू गर्नु अघि साइट क्लियरेन्स ‘राइट अफ वे’, जग्गा प्राप्ती, समुदायसँगको समन्वयन राम्रो हुनुपर्ने बताए ।