काठमाडौँ । आगामी मङ्सिर १२ गतेदेखि १६ गतेसम्म १७ औँ हस्तकला व्यापार मेला सञ्चालन हुने भएको छ ।नेपाल हस्तकला महासङ्घको आयोजनामा आगामी भृकुटीमण्डपमा मेला आयोजना हुन लागेको हो ।
नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागेको महासङ्घका निवर्तमान अध्यक्ष एवं संयोजक धर्मराज शाक्यले जानकारी दिए ।
मेलामा ८ प्याभिलियनसहित २ सय कक्ष रहनेछन् । मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता रहनेछ । मेलामा छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् भने बाँकी नेपाली स्टल हुनेछन् ।
नेपालको हस्तकला हाल विश्वका अधिकांश मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बाँसका सामानहरु प्रदर्शनमा राखिनेछन् ।