काठमाडौं । अब काठमाडौंस्थित चोभार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी साधन जाँचपास गर्न सकिने भएको छ । यसअघि सीमा क्षेत्रका भन्सार कार्यालयहरूबाट मात्रै जाँचपास हुँदै आएका सवारीसाधन अब चोभार बन्दरगाहबाट पनि गर्न सकिने भएको हो ।
भन्सार विभागले मेची, विराटनगर, विरगञ्ज सुख्खा बन्दरगाह र भैरहवा भन्सार कार्यालयलाई नयाँ सवारी साधन जाँचपास सम्बन्धमा परिपत्र जारी गर्दै पैठारीकर्ताले चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा लैजान अनुमति चाहेमा आन्तरिक भन्सार प्रकृया पूरा गरी पठाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
‘गुडाएर लैजाने नयाँ सवारी साधन तथा बेसिसको हकमा जीपीएस ताला आवश्यक पर्ने छैन भनी उल्लेख भएकोले इच्छुक पैठारीकर्ताले नयाँ सवारी साधन तथा चेसिसको आन्तरिक ढुवानी गरी चोभार सुक्खाबन्दरगाह भन्सार कार्यालयमा लैजान अनुमति चाहेमा आन्तरिक भन्सार प्रकृया पुरा गरी पठाउने व्यवस्था गर्नु हुन आदेशानुसार अनुरोध छ,’ विभागले गरेको परिपत्रमा उल्लेख छ ।
अर्थमन्त्रालयले गत चैत ३ मा आन्तरिक परिवहनको अनुमतिका लागि पालना गर्नुपर्ने शर्तहरु तोकेर भन्सार सुख्खा बन्दरगाहबाटै नयाँ सवारी जाँचपास गर्न सकिने बाटो खुला गरेको थियो ।
व्यवसायीक गतिविधिलाई प्रोत्साहन गर्न निर्माण गरिएको चोभार सुख्खा बन्दरगाहले अपेक्षित बिजनेश पाएको छैन । सञ्चालनमा आएको एक वर्षभन्दा बढी भएपनि कमजोर सडक पूर्वाधारका र सञ्जानलसँग जोडिन नसक्दा सुख्खा जस्तै बनेको छ ।
डेढ अर्ब बढी लगानीमा निर्माण गरिएको यस बन्दरगाहको ५०० कन्टेनर पार्किङ गर्ने क्षमता छ । सीमानाका बन्दरगाह बेस्त रहँदा सुख्खा रहेको चोभार बन्दरगाहलाई बिजनेश दिन सरकारले यहीँबाट नयाँ जाँचपासदेखि पैठारीकर्तालाई सहज बनाउने व्यवस्था गरेको हो ।
अन्य भन्सार कार्यालयकोभन्दा कम ड्यामरेज शुल्क लाग्ने कारण विभिन्न कम्पनीले साना सवारीसाधन चोभार ल्याउन सक्ने देखिन्छ । अहिले वीरगंज भन्सार कार्यालयले दैनिक ड्यामरेज चार्ज ५८५ रुपैयाँ लिँदै आएकोमा चोभारमा यस्तो शुल्क २०० रुपैयाँ मात्रै तोकिएको छ ।