मौद्रिक नीति खुकुलो गर्न दबाब, अपेक्षा अनुसार लचक नहुने राष्ट्र बैंकको संकेत

काठमाडौं । अर्थतन्त्र सुधारकोे विषयलाई लिएर सरकार र राष्ट्र बैंक बीचको सम्बन्ध पुनः एकपटक सतहमा देखिएको छ । सरकारले मौद्रिक नीति मार्फत अर्थतन्त्र सुधारको कदम चाल्नुपर्ने बताइरहँदा राष्ट्र बैंकका अधिकारी भने तयार छैनन् ।

निजी क्षेत्र र सरकारले लचिलो मौद्रिक नीति लिन राष्ट्र बैंकमाथि दबाब दिइरहेका छन् । अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म वित्त नीति चलाउने ठाउँ नभएकाले मौद्रिक नीति मार्फत सुधार गर्नुपर्ने बताइरहेका छन् ।

यसअघि पनि मौद्रिक नीतिका कारण अर्थतन्त्रमा एकपछि अर्को समस्या आएको उनीहरूको भनाइ थियो । अर्थमन्त्री प्रकाशशरण महतले १३ वैशाखमा राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावको छलफलका क्रममा राष्ट्र बैंकले कोभिड अवधिमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिलेको अवस्था देखिएको बताएका थिए ।

आइतबार अर्थमन्त्री महतले वित्त नीति चलाउने ठाउँ नभएकाले मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्नुपर्ने बताए । ‘फिस्कल स्पेस बढाउनका लागि स्रोत छैन । समन्वयात्मक र साझा लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्ने बेला भएको छ,’ आइतबार बिजनेश समिटमा उनले भने, ‘त्यस कारण मौद्रिक उपकरण चलाएर ब्याजदर घटाइ लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ ।’

उनले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताए । खर्च अनुसार राजस्व नउठेपछि सरकारी वित्त व्यवस्थापन दबाबमा छ । सोही कारण अर्थतन्त्रका अन्य क्षेत्रहरूमा पनि सिथिलता आएको छ ।

सरकारको वित्त नीति कार्यान्वयनमा समस्या देखिएका कारण अर्थतन्त्र सुधारको कदम त्यहाँ बाटै चाल्नुपर्ने विज्ञहरू बताउँछन् । समयमै पूँजीगत खर्च गर्न नसक्दा प्रणालीमा पूँजीको समस्या देखिएको र त्यसले बजारको माग आपूर्ति चक्रमै समस्या ल्याएको अर्थविद्हरू बताउँछन् । अर्थशास्त्री एवं सांसद डा.स्वर्णीम वाग्ले वित्त नीतिबाट अगाडी बढ्ने ठाउँ छैन भन्ने कुरा गलत भएको बताउँछन् ।

‘हिजो मैले अर्थमन्त्रीबाट सुने फिस्कल स्पेस टाइट छ, मनिटरी उपकरणहरुबाट अगाडी जान्छौं भन्नु भयो । त्यो गलत हो,’ सोमबार प्रतिनिधिसभामा बोल्दै उनले भने, ‘फिस्कल स्पेस खोज्न सक्ने हो भने, सिर्जनशिल हुन सक्ने हो भने व्यापक स्पेसर अझै पनि छ । र यसको लागि जलवायु परिवर्तन र दिगो विकासको मुद्दाबाट पनि अगाडी बढ्न सकिन्छ ।’

बजारमा उपभोगको परिणाम नघट्ने तर त्यसअनुसार राजस्व नउठ्ने समस्या देखिनु भनेको राजस्व चुहावट भइरहेको छ कि भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ । सोही कारण सरकारले वित्त नीति मार्फत नै अर्थतन्त्रको संकट समाधान गर्नुपर्ने धेरैको तर्क छ ।

राष्ट्र बैंकका अधिकारीहरू पनि अर्थमन्त्रीले भने जस्तै मौद्रिक नीति मार्फत नै अर्थतन्त्र सुधार हुन्छ भन्ने विषयमा सहमत छैनन् । अर्थमन्त्रीले मौद्रिक नीतिबाटै सुधारको कदम चाल्नपर्ने बताएपछि गभर्नर महाप्रसाद अधिकारीले त्यसका केही सीमितता र सीमा रहेकाले त्यो भित्र बस्न नसक्दा दुर्घटना हुने बताए ।

‘मौद्रिक नीतिका पनि केही आफ्नो सीमा छन् । सोही सीमाभित्र बसेर काम गर्न पायौं भने तलाउको किनारमा पुग्न सक्छौं’, आइतबार एक कार्यक्रममा बोल्दै उनले भने, ‘अन्यथा त्यो सम्भव छैन । सोही सीमा भित्र रहेर राष्ट्र बैंकले काम गर्छ ।’

उनले राष्ट्र बैंकप्रति अपेक्षा बढे पनि मौद्रिक सीमाभित्र रहेर सम्बोधन गर्ने बताए । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कसिलो मौद्रिक नीति कार्यान्वयनमा ल्याएको थियो । नियामकको नीतिगत कडाइलाई खुकुलो बनाउन निजी क्षेत्र र सरकारले नै दबाब दिइरहेका थिए ।

तर, बाह्य क्षेत्रमा देखिएको चाप कम गर्न राष्ट्र बैंकले कसिलो नीतिलाई नै निरन्तरता दिएको छ । आफैले लिएका मौद्रिक उपकरणहरू ट्रयाक बाहिर गएपछि बाह्य क्षेत्रको दबाब कम गर्न खोज्दा आन्तरिक अर्थतन्त्रमा मन्दी देखिएको छ ।
विदेशी मुद्रा संचिति र भुक्तानी सन्तुलनमा सुधार देखिए पनि मूल्यवृद्धिको चाप कायमै छ । सोही कारण अन्तर्राष्ट्रिय मुद्राकोषले समेत मौद्रिक नीतिलाई धेरै खुकुलो बनाउन नहुने सुझाव दिएको छ ।

सरकारले मौद्रिक लचकता अपनाएर अर्थतन्त्र सुधार गर्न राष्ट्र बैंकमाथि दबाब दिए पनि अपेक्षा अनुसार खुकुलो नहुने संकेत गभर्नर अधिकारीले गरिसकेका छन् । यसअघि पनि राष्ट्र बैंक र सरकारको सम्बन्धमा सन्तुलन नहुँदा चेपुवामा भने अर्थतन्त्र परेको थियो ।

तत्कालीन एमाले सरकारले गभर्नरमा नियुक्त गरेका अधिकारीले एमाले सरकारमा हुँदा मन्त्रीलाई सहयोग गर्ने र अन्य दलको नेतृत्व आउँदा कसिलो नीति लिएर असफल बनाउन तिर लाग्ने गरेको आरोप छ ।

अघिल्लो वर्ष सरकारले सोही आरोप लगाएर उनलाई गभर्नरबाट बर्खास्त गरेको थियो । तर, अदालतले पुनबर्हाली गरेपछि उनी राष्ट्र बैंकको नेतृत्वमा फर्किए । गत वर्ष एमालकोे अर्थविभागमा एमअधिकारी छद्म नाममा उनी बसेको बाहिरिएपछि सरकार परिवर्तन अनुसार उनले लिएका नीतिहरूमा झनै संका गर्ने ठाउँ रह्यो ।

सोही कारण सरकारसँग बिग्रिएको राष्ट्र बैंकको सम्बन्ध काँग्रेस नेता महतले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका बेला कसरी अघि बढ्छ भन्ने धेरैको चासो थियो । उक्त विषय आगामी दिनमा देखिने नै छ ।

वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका मुख्य स्टेरिङ हुन । तर, यी नीतिहरू बीचको तादाम्यता नमिल्दा अर्थतन्त्रमा झनै संकट गहिरिएको छ ।

सेयर बजार ८ महिना यताकै न्यून विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

सेयर बजार ८ महिना यताकै न्यून विन्दुमा, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

उपत्यकामा उच्च क्षमताका ८ सबस्टेसन निर्माणाधीन, रिङरोड घेर्ने प्रसारण लाइन बनाइँदै Read Next

उपत्यकामा उच्च क्षमताका ८ सबस्टेसन निर्माणाधीन, रिङरोड घेर्ने प्रसारण लाइन बनाइँदै