काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ सबस्टेसन निर्माण गरिरहेको छ ।काठमाडौं उपत्यकामा ४०० देखि १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भविष्यमा वृद्धि हुनसक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्धरुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । कुल २२० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी ‘रिङ’ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।
हाल काठमाडौँको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन् ।टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् । दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाभित्रको विद्युत्को बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेसन आयोजना जतिसक्म्दो छिट्टो सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।
कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेसनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेसन निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।
‘यस वर्षको जाडोमा काठमाडौँ उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडिनै सबस्टेसनको निर्माण सक्नुपर्छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘टेकु र फुटुङ सबस्टेसन निर्माण सम्पन्न भएपछि काठमाडौँको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’
टेकुस्थिति ६६/११ केभी सबस्टेसनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेसन निर्माण भइरहेका छन् । दुवै सबस्टेसनमा ४५/४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर राखिने छ ।
बालाजु–चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेसनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिने छ । टेकु सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि नौ वटा नयाँ फिडर निकालिने छ, जसले काठमाडौँको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउने छ ।
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने लगायतका आयोजना सञ्चालित छन् ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडीबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।
काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन अन्तर्गत ललितपुरको खोकना, बुङ्मती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौँको चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् ।
सुख्खा बन्दरगाहा नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेसन निर्माणका लागि आवश्यकपर्ने १२ रोपनी जग्गाप्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ । चोभारमा सबस्टेसन बनाइ चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेसनमा पुर्याइने छ ।
लगनखेल सबस्टेसनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रुपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिने छ । ललितपुर क्षेत्रमा स्यूचाटार–पाटन–बानेश्वर ६६ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।
स्थानीयको अवरोधका कारण लप्सीफेदी ४०० र २२०/१३२/११ केभी सबस्टेसन निर्माण सुरु हुनसकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेसन निर्माण गर्न लागिएको हो लप्सीफेदीबाट चाँगुनारायण सबस्टेसनसम्मको करिब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।