काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले बिहीबार विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वार्षिकोत्सवको अवसरमा ग्राहक, बीमा अभिकर्ता, संचालक पदाधिकारी, कर्मचारी, नियाकम निकाय लगायतको सहयोयले नेपाल लाइफ नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित भएको भन्दै सबैलाई धन्यवाद दिए ।
उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।
२२ वर्ष पूरा गरी २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम मार्फत कोशी प्रदेशको विर्तामोडमा ५६, मधेश प्रदेशको वीरगंजमा १६, बागमती प्रदेशको नारायणघाटमा ३९ र काठमाडौँमा ४१, गण्डकी प्रदेशको पोखरामा ५६, लुम्बिनी प्रदेशको बुटवलमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३२ र सुदूरपश्चिमकोे महेन्द्रनगरमा ४५ गरी कुल ३१० पिन्ट रगत संकलन गरिएको छ ।
कम्पनीले चालु आवको चैत मसान्तसम्ममा लगानी रु. १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्ब रुपैयाँ संचित रहेको छ । कम्पनीले हाल देशभरका १९२ शाखा कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।