काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
तीन कम्पनी मर्ज भई नयाँ नाम ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । तीनै कम्पनी समान हैसियत अर्थात् १:१:१ सेयर अनुपातमा मर्ज भएका हुन् ।
यी कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल बीमा प्राधिकरणले वैशाख १३ गते र नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
एकीकृत कारोबारका लागि डाटा माइग्रेसन गर्न तीन वटै कम्पनीको सेवा ३ दिन बन्द हुने भएको छ । वैशाख २३, २४ र २५ गते तीन वटै कम्पनीले सम्पूर्ण सेवाहरु बन्द गर्ने भएक हुन् ।
हाल प्राइम लाइफको चुक्ता पूँजी ३ अर्ब १४ करोड, गुराँस लाइफको २ अर्ब ५३ करोड र युनियन लाइफको २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । एकीकृत कारोबारपछि नयाँ कम्पनीको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।