काठमाडौं । विदेशी पर्यटक आवगमनको अवस्था कोरोनाकाल अघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ को पछिल्ला दुई महिना मार्च र अप्रिलमा झन्डै १/१ लाख पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२३ को अप्रिलमा ९८ हजार ७७३ पर्यटक हवाईमार्ग हुँदै नेपाल भित्रिएका छन् । महिनैपिच्छे झन्डै १ लाख पर्यटक भित्रिएको यो लगातार दोस्रो महिना हो । यसअघि गत मार्चमा सन् २०१९ डिसेम्बर यताकै धरै ९९ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका थिए ।
पछिल्लो समय विश्वभर कोरोना प्रभाव कम हुँदै गएसँगै नेपाल भित्रिने पर्यटकको संख्या पनि क्रमशः बढ्न थालेको हो ।
सन् २०२३ को पहिलो चार महिना (जनवरी अप्रिल)सम्ममा नेपालमा कुल ३ लाख २६ हजार ५२८ जना पर्यटक भित्रिएका छन् । जनवरीमा ५५ हजार ७४ जना, फेब्रुअरीमा ७३ हजार २५५ र मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ ।
सबैभन्दा धेरै भारतीय
विगतमा जस्तै अप्रिलमा पनि नेपाल आउनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । यस महिना कुल पर्यटक मध्ये भारतीयको संख्या झन्डै एकतिहाई अर्थात् ३१.८२ प्रतिशत रहेको छ ।
बोर्डका अनुसार अप्रिलमा ३१ हजार ४३७ भारतीय नेपाल भ्रमणमा आएका छन् । यसैगरी, दोस्रोमा अमेरिकाबाट ८ हजार ४१३, चीनबाट ४ हजार ७७०, अस्ट्रेलियाबाट ३ हजार ८२८, जर्मनीबाट ३ हजार २४६, फ्रान्सबाट ३ हजार २११, रसियाबाट २ हजार ६६७, बंगलादेशबाट २ हजार २१७, थाइल्यान्डबाट २ हजार १०२ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।