तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् ।
प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले उत्पादित गरेको मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात गर्न थालिएको समूहका सचिव नन्दु थापामगरले जानकारी दिए । उनका अनुसार ती देशमा बढीमा तीन हजार किलोसम्म मह बिक्री हुँदै आएको छ । विदेशमा प्रतिकिलो रु दुई हजार पाँच सयमा मह बिक्री हुने गरेको उनको भनाइ छ ।
`पछिल्लो केही समय यता वातावरणमा आएको प्रदूषणका कारण मह उत्पादनमा पनि कमी आएको छ, तर धेरै बिक्री भएको बेला तीन हजार किलोसम्म बिक्री भइराखेको छ´, उनले भने, `यहाँ उत्पादित महको माग विदेशमा राम्रो छ ।´ विदेशमा मह बिक्री हुन थालेपछि कृषक उत्साहित भएको उनको भनाइ छ ।
समूहमा ४१ घरधुरीका कृषक आबद्ध छन् । सबै घरधुरीले मौरीपालन गरिरहेका छन् । थोरैमा दुई घार र बढीमा ५५ घारसम्म मौरीपालन गरिएको छ । `यहाँका कृषकको आम्दानीको मुख्य स्रोत नै मौरीपालन हो, हरेक घरमा मौरीका घार छन्´, उनले भने, `मौरीपालनबाट कृषक सन्तुष्ट छन् ।´
यहाँका कृषकले सिजनमा प्रतिमौरीघार १५ किलोसम्म मह बिक्री गर्दै आएका छन् । मह उत्पादनका तीन सिजन उपयुक्त मानिन्छ । `बढीमा प्रति घार ३० किलोसम्म पनि बिक्री हुँदै आएको छ´, उनले भने । कृषक समूहमा उत्पादित मह आफूहरुले सङ्कलन गरेर काठमाडाैंका व्यापारीमार्फत विदेश पठाउने गरेको थापा बताउछन् । नेपालमा भने प्रतिकिलो रु एक हजार पाँच सयमा मह बिक्री हुँदै आएको छ । उनका अनुसार यहाँ उत्पादित मह स्वदेशमै बिक्री वितरण गर्नुपर्छ भन्ने माग पनि आउन थालेको छ ।
दगाममा सिँचाइको अभाव भएकाले यस क्षेत्रका कृषकको आकर्षण मौरीपालनमा बढेको छ । एक हजारदेखि एक हजार तीन सय ३४ मिटर उचाइमा अवस्थित यस ठाउँमा सिँचाइ अभाव भएपछि तरकारी खेतीभन्दा मौरीपालनतर्फ कृषकको आकर्षण बढेको उनको भनाइ छ । उनले भने, `चारैतिर खुलेको डाँडा र जङ्गल भएका कारणले मौरीलाई तापक्रम पुग्ने र बिहानै घाम आउने भएका कारण यहाँ मौरी फस्टाएको छ´, तर पछिल्लो समय वनमा लाग्ने डढेलो र प्रदूषणका कारण मह उत्पादनमा कमी आउन थालेको कृषकको गुनासो छ ।
`मह उत्पादनका लागि सफा र स्वच्छ वातावरण चाहिन्छ, तर केही समययता डढेलोको प्रकोप बढेका कारण मह उत्पादनमा कमी आउने भएपछि कृषक चिन्तित छन्´, समूहका अध्यक्ष कमला थापाले भने । उनका अनुसार वातावरणमा भर पर्नुपर्दा कहिलेकाँही मागअनुसारको मह उत्पादन गर्न गाह्रो भइरहेको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले शुक्लागण्डकी नगरपालिका–१ र २ लाई मौरीपालनको ब्लकको रुपमा विकास गरेको छ । कृषकलाई समूहमा आबद्ध गरी ज्ञान केन्द्रले सीपसँगै मौरी, घार वितरण गर्दै आएको छ । एक हजार एक सय ३४ मिटर उचाइमा अवस्थित दगाममा मौरीपालनको उच्च सम्भावना भएको र यहाँ उत्पादित मह युरोप निर्यात हुन थालेपछि यहाँका कृषक मौरीपालनतर्फ आकर्षित भएको युवा कृषक सुरज वाग्लेले बताए । शुक्लागण्डकी नगरपालिका १ र २ मा मौरीपालन कृषकको सङ्ख्या दुई सय २० छन् । सबै कृषकले मौरी पालेर मह उत्पादन गर्दै आएका छन् ।