काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंक तथा वित्तीय संस्था विरुद्ध अराजक गतिविधि गरे मुद्दा हाल्ने निर्णय गरेको छ । परिसंघको विहीबार बसेको कार्यसमितिको चौंथो बैठकले वित्तीय संस्था, सोको सम्पत्ति, साख एवं कार्यरत कर्मचारीको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहबाट गैरकानूनी गतिविधिहरुको भइरहेकाले कानुनी कदम चाल्ने निर्णय गरेको हो ।
‘अब उप्रान्त कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पु¥याउने, बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानुनबाट बर्जित क्रियाकलापहरु गर्ने जोसुकै व्यक्ति तथा संघ संस्थाका विरुद्ध अनिवार्य रुपमा मुद्दा चलाउने तथा प्रचलित कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढाइनेछ,’ सीबीफीनले भनेको छ ।
परिसंघले यस्ता कार्य गर्नेलाई कारबाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने, उजुरी गर्ने लगायत बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी, सरोकारवालाको हकहित संरक्षणका लागि कानुनले दिएको अधिकार प्रयोग गरी जस्तोसुकै कठोर कदम चाल्न बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध रहेको जनाएको छ ।