२ अर्ब मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, यस्ता बैंकले मात्र पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विभिन्न कोषहरुमा रहेको २ अर्ब १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १२ , ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ३० करोड २ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रु १० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकले १ वर्ष अवधि अर्थात् ३ जेठ २०८० देखि २ जेठ २०८१ सम्मका लागि उक्त रकम मुद्दतीमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी वैशाख १७ गते (आज)सम्म आवेदन बुझाउन सक्नेछन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर शर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

बुटवल-तानसेन सडक अब दिउँसो बन्द नहुने, राति ६ घण्टा बन्द हुने Read Previous

बुटवल-तानसेन सडक अब दिउँसो बन्द नहुने, राति ६ घण्टा बन्द हुने

नेप्सेमा एकैदिन दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ? Read Next

नेप्सेमा एकैदिन दुई लघुवित्तको आइपीओ सूचीकृत, ओपनरेन्ज कति ?