काठमाडौं । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको सम्पति छानबिन हुने भएको छ ।सरकारले उनीमाथि लागेको आरोपको बारेमा छानबिन गर्न गठित समितिको सहकार्यमा सम्पति शुद्धिकरण अनुसन्धान विभागले उनको सम्पति छानबिन गर्ने भएको छ ।
श्रेष्ठ डेपुटी गभर्नर भएको केही समयपछि नै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विभागमा उजुरी परेको थियो । उनीमाथि पदीय आचरण अनुकुल काम नगरेको, फर्जी कागज तयार पारी अनधिकृत सुविधा लिएको, बैंक तथा मुलुकको वित्तीय प्रणालीलाई प्रभावित पार्ने काम गरेकोलगायतका आरोप लागेका छन् ।
त्यसैका आधारमा मन्त्रीपरीषद्ले राष्ट्र बैंकलाई छानबिन गर्न निर्देशन दिएपछि संचालक श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोधकुमार कर्णको ३ सदस्यीय छानबिन समिति बनाइएको छ। र, सो समितिले अनुसन्धानको काम शुरु गरिसकेको छ ।
यस्तो छ उनको सम्पत्ति विवरण
डेपुटी गभर्नर भएपछि बुझाएको सम्पति विवरण अनुसार उनीसँग नगद बैंक ब्यालेन्स, विभिन्न कम्पनीको सेयर, सुन चाँदी, घर, जग्गा लगायतको सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
उनले २०७२ चैतमा पेश गरेको विवरणमा विभिन्न बैंक तथा वित्तीय संस्थामा २ करोड रुपैयाँ बचत देखिएको छ ।पैतृक सम्पत्ति अन्तर्गत बालाजुमा बुवाको नाममा घर रहेको छ ।
श्रेष्ठले टोखा नगरपालिका १० मा अढाई तले घर, श्रीमतिको नामममा जग्गा रहेको छ उल्लेख गरेका छन् । यस्तै श्रेष्ठ र उनको परिवारको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६५ हजार ८३५ कित्ता सेयर रहेको छ ।
यस्तै श्रेष्ठ र उनको परिवारसँग ६० तोला सुन तथा ६०० तोला चाँदीको गहना रहेको छ ।