काठमाडौं । पुरानो ठिमी बस्दै आएकी सविता कोइराला पछिल्लो केही समययता होटल तथा रेष्टुराँमा धाएर खानाका परिकार खान छोडेकी छिन् । उनी प्रायः घरमै बसिरहने भएकाले खाना तथा खाजा खानुपरे अहिलेको लोकप्रिय एप फूडमान्डुमार्फत आफूलाई मन लागेका विभिन्न परिकार अर्डर गरेर मगाँउने गरेकी छिन् ।
आफ्नो स्मार्टफोनमा फूडमान्डु एप डाउनलोड गरेकी कोइरालाले यही एपमार्फत उपत्यकाका विभिन्न रेष्टुराँको परिकार घरमै बसेर अर्डर गर्ने गरेकी छन् । उनी भन्छिन् ‘रेष्टुराँ, क्याफेमा धाएर खाने र समय खर्च गर्नुभन्दा घरमै बसेर खाना बढी आनन्द लाग्छ । यसले मेरो समयको पनि बचत गर्दछ ।’ आज भोलिका नयाँ नयाँ प्रविधिले सबैको दिनचर्या सहज र सुविधायुक्त बनाइदिएको उनको भनाइ छ ।
खानाका पारखीहरुलाई सुविधा दिँदै आएको अर्को एप हो फूडमारियो हो । यसले रेष्टुराँको खाना नभएर घरमै बनाइएको खाना तपाईं–हामी माझ ल्याउने गर्दछ । अहिले फूडमान्डु र फूडमारियोजस्तै, भोजडिल्स, मामहाम, यमफूड, भोक लाग्यो र हाम्रो किचेन लगायतले खानाको विभिन्न परिकार उपभोक्तासम्म पुर्याइदिने गरेको छ । यी सबैका एपले कम्पनीलाई ग्राहकसँग जोड्ने काम गरिरहेका छन् ।
त्यस्तै, प्रविधिको प्रयोग गरी एपमार्फत भुक्तानी सेवा लिइरहेका अर्का व्यक्ति हुन्, निरज नेपाल । गठ्ठाघर बस्दै आएका उनले आफ्नो मोबाइलमा ई–सेवाको एप राखेका छन् । यसले उनलाई बिजुली, केबल टीभी र इन्टरनेटको बिल भुक्तानी, घरबेटीलाई कोठाभाडा तिर्न तथा बैंक वित्तसम्बन्धी सबै कामका लागि सहज बनाएको छ ।
ई–सेवाको एप आफ्नो मोबाइलमा राखेर प्रयोग गरेसंगै बिजुलीको बिल तिर्न जाँदा घण्टौं लाइनमा बस्नुपर्ने समस्याबाट छुट्कारा मिलेको र समयको पनि बचत भएको उनी बताउँछन् । अहिले निरज क्यासलेस जस्तै भएर हिँड्छन् अर्थात् नगद बोक्दैनन् । उनी भन्छन्, ‘यसले पकेटमाराको डर पनि भएन, समयको बचत पनि भयो ।’

उनले यसरी ई–सेवाबाट सेवा लिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, अब उनी अर्को पनि सेवाप्रदायक छनोटको तयारीमा छन् । ‘ई–सेवाको सेवा सरल, सहज र उत्कृष्ट हुँदाहुँदै पनि मलाई अर्को यस्तै सेवा दिने आईएमई पे प्रयोग गर्न मन लागेको छ,’ उनी भन्छन्, ‘सुनेको छु, खल्तीको सेवा पनि राम्रो छ ।’ बैंकमा खाता भएको जसले पनि कसैलाई रकम तिर्न तथा आफूलाई कसैसँग सापट माग्न परे यस्ता मोबाइल एपले निकै सहज गरिदिएका छन् ।
पछिल्लो समय मोबाइल एपको प्रयोग ग्रामीण भेगमा न्यून रहे पनि काठमाडौं उपत्यका र अन्य ठूला शहरमा भने मोबाइल एपको प्रयोगले व्यापक रुप लिएको छ । यसले ठूलो हिस्सा नै ओगटिसकेको छ । शहरी क्षेत्रमा डिजिटल भुक्तानी प्रणाली अगाडि बढिसकेको छ ।
नेपाली बजारमा मोबाइल फोन भित्रिएको झण्डै दुई दशक भइसकेको छ । यो अवधिमा मोबाइल सेवा र प्रविधिले मात्र ठूलो फड्को मारेन, इन्टरनेट सेवाको विस्तार पनि देशभर हुन सफल रहयो । इन्टरनेटको पहुँच बढेसंगै मोबाइल एपमार्फत सेवा दिने कम्पनीहरुको संख्या पनि अहिले उकालो लाग्न थालेको छ ।
मोबाइल एपबाटै मोटरसाइकल सेवा दिइरहेका कोटेश्वरका दिपेन लम्साल राइड शेयर सेवाप्रदायक कम्पनी टूटलसँग जोडिएका छन् । मानिसलाई एक ठाउँबाट अर्को ठाउँ पुर्याउन यो सहयोगी माध्यम बनेको लम्साल बताउँछन् ।
उनी यो पेशामा फुलटाइम नै दिएर लागिपरेका छन् । टूटलमार्फत मासिक २८ देखि ३५ हजार रुपैयाँसम्म कमाइ हुने गरेको उनी बताउँछन् । उनले दिनमा अधिकतम ६० देखि ७० टिपसम्म गर्ने गरेका छन् ।

एपको माध्यमबाट सेवा प्रदान गर्ने सारथी, यात्रु, पठाओ र टूटलले पछिल्लो समय काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई निकै सहज बनाएका छन् । मोबाइल एपमार्फत विभिन्न सेवा लिइरहेका ग्राहकको संख्या नेपालमा बढ्दो छ भने हजारौंले उक्त सेवासँग प्रत्यक्ष जोडिएर रोजगारीको अवसर समेत पाएका छन् ।
किराना व्यवसाय अर्थात् रिटेल बिजनेस पनि मोबाइल एपबाट अछुतो छैन । ई–टेल (इलेक्ट्रोनिक रिटेल) कम्पनी सस्तो डिल, दराज, हाम्रो बजार र मेरो किनमेलले पनि एपमार्फत नै उपभोक्ताको अर्डर लिने गरेको हामी सबैलाई थाहा नै छ ।
नेपाली बजारमा मोबाइल फोन भित्रिएको झण्डै दुई दशक भइसकेको छ । यो अवधिमा मोबाइल सेवा र प्रविधिले मात्र ठूलो फड्को मारेन, इन्टरनेट सेवाको विस्तार पनि देशभर हुन सफल रहयो । इन्टरनेटको पहुँच बढेसंगै मोबाइल एपमार्फत सेवा दिने कम्पनीहरुको संख्या पनि अहिले उकालो लाग्न थालेको छ ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक २० अर्ब रुपैंयाकभन्दा बढीको मोबाइल आयात भइरहेको छ । स्मार्टफोनका कारण पनि भ्यालु एडेड सर्भिस शुरु गर्न र विस्तार गर्न सहज भएको विभागका अधिकारीहरु बतउँछन् ।
विगत केही वर्षयता ओभर दी टप (ओटीटी) सेवा अर्थात् एपहरुको प्रयोग बढ्यो । मोबाइल एपको विकाससँगै नेपालमा पनि भाइबर, इमो, फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै रुपमा बढेको पाइन्छ । अहिले नेपाली युवाहरु यस्ता सामाजिक सञ्जाल र एपमार्फत व्यापार व्यवसायमा अघि बढ्न थालेका देखिन्छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदन अनुसार नेपालमा मोबाइल सेवा प्रयोगकर्ता ४ करोड १० लाख पुगेका छन् । त्यस्तै, ब्रोडब्याण्ड इन्टरनेटमा हाल ६४ प्रतिशत नेपालीको पहुँच रहेको छ ।
इन्टरनेट र मोबाइल एप परिपूरकजस्तै हुन् भन्दा फरक नपर्ला । नेपालमा जुन रुपले इन्टरनेटको विस्तार भइरहेको छ सोही अनुसार समाज डिजिटलाइज्ड प्रणालीतर्फ लम्किरहेको छ । हुन त इन्टरनेटबिना यी मोबाइल एपको कुनै सम्भावना पनि छैन ।
ई–कमर्श लगायत अधिकांश वित्तीय कार्यालयले आफ्नै मोबाइल एपको विकास गरिरहेका छन् । सरल र सहज भएका कारण मोबाइल, ल्यापटप र कम्प्युटरभन्दा शक्तिशाली भइसकेको कम्पनीका अधिकारीहरुको भनाई छ । तर, अहिले ग्रामीण भेगमा भन्दा पनि जहाँ इन्टरनेटको पहुँच छ कम्पनीहरु त्यतै केन्द्रित हुने गरेका छन् ।
यता, नेपाल सरकारले पनि ५ वर्षभित्र डिजिटल नेपाल बनाउने अवधारणा ल्याएको छ । यसअन्तर्गत देशका कुल ७५३ स्थानीय तहमध्ये साढे ४५० भन्दा बढी स्थानीय तहले आफ्नै एप ल्याएका छन् ।
यसले स्थानीय तहलाई गतिविधि, अनुगमन र कार्ययोजना बनाई अगाडि बढ्न सहज भएको सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादव बताउँछन् । बाँकी स्थानीय तह पनि छिट्टै मोबाइल एप सञ्चालनमा ल्याउने तयारीमा छन् । केही समय अघिमात्रै मन्त्रिपरिषद्को बैठकले नागरिक अधिकार एपलाई पनि स्वीकृति दिइसकेको छ ।
अझै पनि थुप्रै मानिसलाई यी एपको विषयमा जानकारी नभएको मोबाइल एपमार्फत राइड शेयरिङको सेवा दिँदै आएको कम्पनी टूटलका कार्यकारी निर्देशक शिक्षित भट्ट बताउँछन् । अबको विश्व ‘आर्टिफिसियल इन्टेलिजेन्स’ तिर केन्द्रित हुँदै छ । यस्तो अवस्थामा मोबाइल एपले सामाजिक तथा आर्थिक विकासलाई पनि प्रभाव पार्दै गएको छ ।
नेपालमा पछिल्लो समय धेरै व्यवसायमा मोबाइल एप अनिवार्य हुन थालेको हुँदा यसको नियमन पनि उत्तिकै आवश्यक रहेको फूडमान्डुका संस्थापक मनोहर अधिकारी बताउँछन् । ‘अबको युग डिजिटल युग हो,’ अधिकारी भन्छन्, ‘पछिल्लो समय व्यापार व्यवसायमा जुन रुपले एपको प्रयोग बढेको छ, यसले नेपालको प्राविधिक तथा सामाजिक मान्यतामा नै परिवर्तन ल्याउने देखिएको छ ।’
प्रविधिमा आएको परिवर्तनसँगै उपभोक्ताहरु अनलाइन तथा इन्टरनेटमार्फत सेवा लिन आतुर रहेका छन् । बजारको अवस्थालाई हेर्दा अबको बाटो मोबाइलमार्फत अनलाइनमै भएको सेवा प्रदायक कम्पनीहरुको ठम्याई छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्ता स्टार्टअप कम्पनीलाई नियमन गर्न कार्ययोजना अगाडि बढाएको समेत कम्पनीका अधिकारीहरु बताउँछन् । नेपालमा ठूलो परिमाणमा पेमेन्ट गर्नुपर्यो भने अझैपनि डिजिटल पेमेन्टलाई अनुमति दिइएको छैन, यसका लागि चेकबाट कारोबार भइरहेको छ ।
टूटल, पठाओले छोटो समयमा काठमाडौंको सार्वजनिक यातायात सेवामा ‘डिसरप्शन’ गरे । सरकारले यिनको सेवा रोक्न खोज्दा उपभोक्ताहरु नै यसको बचाउमा आए । यसले प्रविधिमा आधारित व्यवसाय/सेवालाई शहरी उपभोक्ताले कति आत्मसाथ गरेका छन् भन्ने स्पष्ट देखाउँछ ।
विश्व ‘क्यासलेस’ प्रविधिमा गइसकेको छ । सरकारी संस्था पनि डिजिटल भुक्तानीमै प्रेरित भइरहेका छन् । पछिल्लो समय हरेक क्षेत्रमा कार्डमार्फत भुक्तानी बढेको छ । समग्रमा व्यापार तथा व्यवसाय अबको ५ देखि १० वर्षमा पूर्णरुपमा अनलाइन प्रणालीमा जाने र यसका लागि मोबाइल एपले विशेष भूमिका निभाउने डिजिटल सेवाप्रदायकहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकबाट मोबाइल एपमार्फत भुक्तानी प्रणाली सञ्चालन गर्न गेटवे कम्पनीहरुले इजाजतपत्र लिने क्रम बढेको छ । पेमेन्ट गेटवे कम्पनीको संख्या मात्रै करीब १ दर्जन पुग्न लागेका छन् ।
राष्ट्र बैंकबाट वित्तीय कारोबारका लागि ई–सेवा, खल्ती, सेल पे, आईएमई पे, प्रभु पे, र आई पेले जस्ता कम्पनीले इजाजतपत्र लिइसकेका छन् । तर, बजारमा प्रतिस्पर्धा गरिरहेका यी कम्पनीले नयाँ सेवा दिनेभन्दा पनि अर्कोको नक्कल गरिरहेका देखिन्छ ।
करिब ४ महिना अघिमात्रै ‘सेल पे’ नामक मोबाइल वालेट नेपाली बजारमा प्रवेश गर्यो । यो अन्य पेमेन्ट गेटवे एपभन्दा फरक छ र यसमा बैंकबाट सोझै बजारमा कारोबार गर्ने व्यवस्था भएकाले उपभोक्ताको आकर्षण यतातिर बढ्न थालेके देखिन्छ ।
ई–कमर्श लगायत अधिकांश वित्तीय कार्यालयले आफ्नै मोबाइल एपको विकास गरिरहेका छन् । सरल र सहज भएका कारण मोबाइल, ल्यापटप र कम्प्युटरभन्दा शक्तिशाली भइसकेको कम्पनीका अधिकारीहरुको भनाई छ । तर, अहिले ग्रामीण भेगमा भन्दा पनि जहाँ इन्टरनेटको पहुँच छ कम्पनीहरु त्यतै केन्द्रित हुने गरेका छन् ।
नेपालमा अहिले कुनै पनि मोबाइल एप कम्पनीले १ करोडदेखि १० करोड रुपैंयासम्म लगानी गरेका छन् । विशेषगरी, ठूला अनलाइन कम्पनीले ५ देखि १० करोड रुपैंयामा कम्पनी सञ्चालन गरिरहेका छन् । तर, उपभोक्ताले भने डिजिटल भुक्तानीलाई अझै बुझ्न नसकेको सेवा प्रदायक कम्पनीहरुको भनाई छ । अहिले नेपालमा कुल ४ प्रतिशत कारोबार मात्रै डिजिटल भुक्तानीबाट हुने गरेको उनीहरुको दाबी छ ।
विश्व ‘क्यासलेस’ प्रविधिमा गइसकेको छ । सरकारी संस्था पनि डिजिटल भुक्तानीमै प्रेरित भइरहेका छन् । पछिल्लो समय हरेक क्षेत्रमा कार्डमार्फत भुक्तानी बढेको छ । समग्रमा व्यापार तथा व्यवसाय अबको ५ देखि १० वर्षमा पूर्णरुपमा अनलाइन प्रणालीमा जाने र यसका लागि मोबाइल एपले विशेष भूमिका निभाउने डिजिटल सेवाप्रदायकहरु बताउँछन् । तथापि, भविष्यमा ठूलो अर्थतन्त्र मोबाइल एपमा आधारित हुने सम्भावना रहेकाले यसको नियमन पनि आवश्यक रहेको उनीहरुको भनाइ छ ।