काठमाडौं । नेपाली समाजमा सामान्यतः श्रीमान् विदेश वा घर छाडेर बाहिर कमाउन जाने अनी श्रीमती चाँही घरमा बसेर घर चलाउने गरेको देखिन्छ । यसको वस्तुपरक चित्रण साहित्यमा पनि देखिन्छ । नेपाली साहित्यिको सर्वाधिक चर्चित कृति महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा पनि मदन पैसा कमाउन विदेश जान्छन् र मुना उनको यादमा पिरोलिएर बस्छिन् ।
तर, ‘फूपु’को कहानी भने भिन्नै छ । उनी छोराछोरीको पढाइको लागि इलामबाट काठमाडौं पसिन र यहीँ व्यवसाय गरेर बस्न थालिन् । उनको श्रीमान् भने गाउँमै बस्छन् । फूपु काठमाडौंको अनामनगरमा खुर्सानी र चाउचाउ पसल थापेर बसेकी छन् । छोरा छोरीको पढाइदेखि श्रीमान्लाई समेत पैसा पठाउने गर्छिन् ।
उनको चाउचाउ पकाई अलि फरक छ । चाउचाउमा बन्दा र गेडागुडी (चना र केराउ) मिसाएर छिपछिपे झोलिलो चाउचाउ पकाउँछिन् । बन्दा र गेडागुडी फतक्कै गलाएर पकाउँदिनन् । हल्का काँचोकाँचै हुन्छ । अनी अन्तमा अकबरे खुर्सानी र टिमुरको लेदो हाल्दिन्छन्, चाउचाउको बटुकोमा । स्वाद फरक आउँछ र पीरोका पारखीहरु झुत्तिदैं फेरीफेरी आइरहन्छन् । खाजा खाने समयमा बस्नै पाईदैंन, पालो कुरी बस्नुपर्छ !

इलामको फकफोकथुम गाउँपालीकामा घर भएकी ‘फूपु’ अर्थात फूलकुमारी लिम्बु छोराछोरीको पढाइका लागि इलाम बजार झरेकी थिइन ।
उनले इलाममा फेन्सी पसलमा काम गर्दै बच्चाहरुलाई १० कक्षासम्म पढाइन् । त्यसपछि उनी छोराछोरीको उच्च शिक्षाका लागि काठमाडौं पसिन । २०६९ सालमा काठमाडौंं आएकी उनले अनामनगरमा ३ लाख रुपैयाँमा टेबुल मात्र भएको सानो पसल किनिन् । ‘ग्रीन टी’ बाट सुरु भएको उनको पसलको व्यापार फस्टाउँदै अहिले अकबरे खुर्सानी र चाउचाउका लागि प्रसिद्ध बनेको छ ।
उनले इलामबाटै ग्रीन टी र अकबरे खुर्सानी मगाएर आफ्नो पसलमा राख्ने गरेकी छिन् । बिहान ९ बजे तिर खुल्ने उनको पसल खुल्नासाथ ग्रीन टी खानेको भीड लाग्ने गर्छ । ग्रीन टी पिउँदै गफिने मानिसहरुबीच उनी इलामको अकबरे खुर्सानीको ‘प्रमोसन’ पनि गर्छिन ।

दिउँसो १२ बजेपछि त चाउचाउ खानेको लर्को लागिहाल्छ । सानो ठाउँ भएकाले खचाखच मानिसहरुको भीड हुन्छ । एउटाले खान पाको छैन अर्कोले ठाउँ कब्जा गरिहाल्छ । ‘दैनिक १ सयदेखि १ सय २० जनाले अकबरे खुर्सानीको अचार हालेर चाउचाउ खाने गर्छन्’, फूलमाया भन्छिन्, यहाँको चाउचाउको विशेषतानै अकबरेको स्वादमा लतपतिएको चाउचाउ हो ।’
पसिना र नाक र मुखबाट तरल पर्दाथ झार्दै मानिसहरु चाउचाउ र अकबरेको संयुक्त स्वादमा भुल्छन् । झोलिलो खाए पनि फ्राइड खाए पनि टन्न हुने, मुखलाई पनि स्वाद, भोकलाई पनि आराम !
उनले अकबरे खुर्सानी इलामबाटै ल्याउने गरेकी छिन् । शिक्षक रहेका उनका श्रीमान्ले इलामबाट अकबरे खुर्सानी पठाइदिन्छन् । उनी बस पार्कबाट ल्याएर सफा गरी बट्टामा राख्ने गर्छिन ।
त्यही बट्टमा बेच्न राखिएको खुर्सानी मात्र बेचेर पनि उनले राम्रै पैसा बनाउँछिन् । ‘गाउँबाट वर्षेनी ६ सय देखि ८ सय केजीसम्म अकबरे खुर्सानी ल्याएर बेच्ने गरेकी छु’, उनी बताउँछिन् ।

अकबरे खुर्सानी सानो सिसाको बट्टाको २ सय र ठूलो बट्टाको ५ सय रुपैयाँसम्ममा उनले विक्री गर्दै आएकी छिन् । नुन र पानी हालेर सिसामा राखिएको राता अकबरे खुर्सानी हेर्दै लोभलाग्दा देखिन्छन् ।होलसेल लगायत खुद्रामा चिनेजानेकाले समेत उनकै अकबरे किन्ने गरेको उनी बताउँछिन् ।
बैशाखदेखि जेठसम्म रोपिने अकरबरे खुर्सानी जेठदेखि मंसिरसम्म फल्ने गर्छ । इलामबाट श्रीमान्ले पठाएको अकबरे खुर्सानी उनले पसलमै राखेर बच्ने र चाउचाउमा हालेर खुवाउने गरेकी छिन् ।
उनले अकबरे खुर्सानी बनाएर ‘स्टक’मा समेत राख्ने गर्छिन । खुर्सानीको सिजन सकिए पछि पनि आवश्यक हुने भएकाले स्टकमा घरमै बनाएर राख्ने गरेको उनी बताउँछिन् । ‘घरमा छोरा छोरीले प्याक गर्न, सघाउछन्, अहिलेसम्म आफ्नै कमाईले पढाएको छु, अब उनीहरुले पनि केही गर्लाननी,’ फुलकुमारी भन्छिन् ।
उनले दैनिक ४ केजी चना केराउ, ४ केजी बन्दा र १ सय पाकेट भन्दा धेरै चाउचाउ दैनिक बेच्दै आएकी छिन् ।
उनी कहिलेकाहीँ हप्तामै ३० वटा भन्दा बढी बट्टा खुर्सानी बेच्ने गर्छिन । झन उनको हातबाट बनेको ग्रीन टीको कुरै छोडौँ । उनकै पसलमा ग्रीन टीको बानी परेका मानिसहरु उनी बाटै ग्रीन टी किनेर लाने गर्छन् । उनले १ सय ग्रामको १ सय देखि २ सय ५० रुपैयाँसम्ममा विक्री गर्ने गर्छिन् ।

इलामबाटै अर्गानिक अकबरे खुर्सानी र ग्रीन टी विक्री गर्ने भएरै होला उनले ‘फुपुको एग्रो अर्गानीक’ नाममा पसल दर्ता गराएकी छन् । बजारमा उनको पसललाई ‘फुपुको ग्रीन टी’ भनेर पनि चिन्ने गर्छन् ।
उनले कोठाभाडा, पसलको भाडा लगायत खान बस्नका लागि खर्च जुटाउनुका साथै बचत समेत गर्ने गरेकि छिन् । देशको मुख्य प्रशासनिक केन्द्र सिंदरवारको पूर्वीगेट नजिकै रहेकाले उनकोमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, अफिसका कर्मचारी लगायतका मानिसहरु खाजा खान आउँछन् । एक बटुका चाउचाउलाई ७० रुपैयाँ तिरेर खानेहरु उनको पसलमा दैनिक सय जनाभन्दा बढी हुने गर्छन् ।