काठमाडौं । बीमालेख समर्पण (पोलिसी सरेन्डर) गर्ने क्रम निरन्तर वृद्धि भएको छ । बीमा प्राधिकरणले बीमालेख सरेन्डर रोक्न बीमालेख जारी र अभिकर्ता छनोटमा नीतिगत कडाइ गरे पनि सरेन्डर गर्ने क्रम भने वृद्धि भएको हो ।
प्राधिकरणले जीवन बीमा सम्बन्धी निर्देशिका जारी गरेर बीमितले तीन वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने व्यवस्था लागू गरेको छ । यद्यपि, पोलिसी त्याग गर्नेहरूको संख्या भने बढ्दो छ ।
हाल नेपालमा करिब २७ प्रतिशत जनसंख्यामा मात्र बीमाको पहुँच पुगेको छ । एक त बीमा गर्ने नै कम छन् भने अर्कोतिर बीमा गरेकाहरूले पनि धमाधम सरेन्डर गर्न थालेका छन् ।
कोरोना कालपछि बीमालेख सरेन्डर गर्नेको संख्या झनै बढ्न थालेको हो । अर्थतन्त्रमा आएको संकुचनका कारण बीमितको प्रिमियम तिर्ने क्षमतामा कमी आउनु, प्रलोभनमा पारेर बीमा गराउनु लगायत कारणले पोलिसी सरेन्डर हुने क्रम बढेको हो ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामै जीवन बीमा कम्पनीका बीमीतहरूले ८ अर्ब ४९ करोड ५० लाख रुपैयाँ बराबरको ५६ हजार ४९२ वटा बीमालेख सरेन्डर गरेका छन् ।
जबकी अघिल्लो आवमा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका १८ हजारभन्दा धेरै बीमालेख त्याग गरिएको थियो । २०७७/७८ मा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रूपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी सरेन्डर गरिएको प्राधिकरणको तथ्यांकले देखाउँछ ।
प्राधिकरणले पोलिसी सरेन्डरको क्रम त्यसलाई निरुत्साहन गर्न विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । तर, त्यसले पनि सरेन्डरको रेसियो भने अपेक्षित रुपमा घटाउन नसकेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेल पोलिसी सरेन्डर जुनसुकै देशमा पनि हुने र अन्यको तुलनामा नेपालमा कम रहेको बताउँछन् । ‘पोलिसी सरेन्डर जहाँ पनि हुन्छ । यहाँ पनि नभएको होइन, तर पहिलेकोभन्दा केही कम भएको छ,’ उनले भने ।
प्राधिकरणले गत भदौमा बीमा अधिकर्ता, सर्भेयर र दलाल सम्बन्धि व्यवस्था गरेको थियो । उक्त व्यवस्थामा अभिकर्ताले लाइसेन्स लिन अनलाइन परीक्षा दिनुपर्ने प्रावधान समेत राखिएको छ । त्यसैगरी, एउटा अभिकर्ता धेरै बीमकको अभिकर्ता बन्न नपाउने व्यवस्था गरिएको छ ।
किन हुन्छ पोलिसी सरेन्डर ?
प्राधिकरणका अधिकारी आर्थिक स्रोतको आवश्यकता, अभिकर्ताको कारण र जथाभावी बीमा रकम राख्दा पोलिसी त्याग्नेको संख्या बढेको बताउँछन् ।
कार्यकारी निर्देशक पौडेल आर्थिक रुपमा समस्या हुँदा र अभिकर्ताको कारण पोलिसी सरेन्डर गर्ने गरेको बताउँछन् । ‘आय स्रोतको तुलनामा बीमा रकम बढाएपछि अप्ठेरो परेको देखिन्छ । त्यसले सरेन्डर पनि बढाएको छ । पैसा आवश्यक परेको बेलामा पोलिसी सरेन्डर गरेर निकालने गरेको पाइन्छ,’ उनले भने ।
कतिपय अवस्थामा अभिकर्ताले नै पोलिसी सरेन्डर गराइदिने गरेको उनले बताए । ‘एउटा अभिकर्ता एउटामा काम गरिरहेको हुन्छ । अर्कोमा जानेबित्तिकै आफ्नो मार्केटिङ बढाउन पोलिसी नै त्याग गरिदिन्छ,’ उनले भने । पछिल्लो समय प्राधिकरणले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेका कारण पनि सरेन्ड रेसीयो कम भएको उनले बताए ।
कुन महिना कति सरेन्डर ?
बीमा प्राधिकरणका अनुसार मासिक करिब सवा अर्ब रुपैयाँ बीमा रकम बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् । बीमीतहरूले चालु आवको साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमा पोलिसी त्याग गरेका छन् ।
भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख सरेन्डर गरेको प्राधिकरणले जनाएको छ ।
यसैगरी, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेख, पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख त्यागेका छन् ।
माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ बीमालेख र फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ बीमालेखहरू बीमितले सरेन्डर गरेको प्राधिकरणको तथ्यांक छ ।