काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाइ दुबइ’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाइ दुबइको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो । पर्यटनमन्त्री किरातीले भने, ‘जहाजमा चरा ठोक्किएको कुरा अहिलेसम्म प्रमाणित नभएकोसबैमा स्पष्ट गर्दछु ।’
विमानचालकले फ्लाइ दुबइको जहाज धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाइ ‘होल्ड’ गरेर विमानको सबै इन्डिकेटरको चेकजाँच गरेपछि थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए ।
विमानस्थलको टावरका एटीसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । प्राविधिक समस्या देखिएको उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको फ्लाइ दुबइले जनाएको छ ।
यसैबीच, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबइको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताए । ‘विमानस्थलमा निरीक्षणका क्रममा यसको पुष्टि हुन सकेको छैन,’ उनले भने । यसअघि फ्लाइ दुबइले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्विट गरेको थियो ।
‘नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाइ दुबइको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालका तर्फबाट जानकारी गराइसकेका छौँ, जहाजमा चरा ठोकिएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानका क्रममा पत्ता लाग्ला । सहजीकरणका लागि प्राधिकरण तयार छ,’ प्रवक्ता निरौलाले भने ।
विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उनको भनाइ छ । प्राधिकरणका अनुसार एफजेड ५७६ जहाजको पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपत्कालीन प्रावधानको प्रबन्ध गरेको थियो ।
उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक तयारी गरिएको थियो । तर, पाइलटले मेनुअल परीक्षणपछि उडानलाई निरन्तरता दिने निर्णय लिएपछि जहाज गन्तव्यतर्फ उडेर सकुशल अवतरण भएको प्राधिकरणले जनाएको छ । जहाजको अवस्थाबारे कम्पनीले प्राधिकरणलाई रिपोर्टिङ गर्नेछ । तत्पश्चात् मात्रै जहाजमा भएको समस्याको कारण खुल्ने बताइएको छ ।