अपार्टमेन्टमा बैंकको लगानी झन्डै दोब्बले बढ्यो, २६ अर्ब कर्जा प्रवाह

काठमाडौं । आवासीय अपार्टमेन्ट निर्माणमा बैंक तथा वित्तीय संस्थाको लगानी ५ वर्षमा झन्डै दोब्बरले वृद्धि भएको छ । पछिल्लो समय अपार्टमेन्ट निर्माण गर्ने क्रम बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले ऋण लगानी पनि बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आवासीय अपार्टमेन्ट निर्माणमा वित्तीय संस्थाले कुल २६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी आर्थिक वर्ष २०७५/७६ सम्म वित्तीय संस्थाहरूको अपार्टमेन्टमा लगानी १४ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो । पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले अपार्टमेन्ट व्यवसायमा थप ११ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

सहरी क्षेत्रमा जमिनको अभावका कारण एकीकृत आवासीय संरचना निर्माणको लहर, भूकम्पपछिको पुनःनिर्माण, व्यवसायीक प्रयोजनको उद्देश्यका लागि अपार्टमेन्ट निर्माणको क्रम बढेसँगै वित्तीय संस्थाले पनि लगानी बढाएका हुन ।

यद्यपि, हाल भने तरलता अभाव र राष्ट्र बैंकको कडाइका कारण अपार्टमेन्ट निर्माणका लागि कर्जा पाउन मुस्किल रहेको व्यवसायीहरू बताउँछन् । नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका उपाध्यक्ष विदुर धमला अहिले निर्माणका लागि बैंकबाट ऋण सहजै पाउने अस्था नरहेको बताउँछन् ।

‘अर्थतन्त्रमा आएको संकटका कारण बजार नै समस्यामा छ । नयाँ कर्जा पाउने कुरै छैन,’ उनले भने, ‘निर्माण कार्य अघि बढ्न सकेको छैन् । निर्माणको लागि तयारी गरेकाहरूले पनि खासै स्वीकृति पाएका छैनन् ।’

भूकम्पपछि नयाँ संरचना निर्माणमा सरकारको कडाइका कारण थप नयाँ अपार्टमेन्टका संरचनाहरू बन्न नसकेको उनले बताए । २०७२ को भूकम्पपछि सरकारले ठूला संरचना निर्माणमा कडाइ गरेको थियो । जसको कारण नयाँ निर्माणको गर्ने व्यवसायीहरूले सहज रुपमा अनुमति पाइरहेका छैनन् भने पुरानै स्वीकृत भएकाहरू समेत निर्माणमा समस्या भएको व्यवसायीहरू बताउँछन् ।

यद्यपि, राष्ट्र बैंकको तथ्यांकले पछिल्लो पाँच वर्षमै अपार्टमेन्ट निर्माणको लागि दोब्बरले कर्जा लगानी बढेको देखाउँछ । २०७६ सम्म उपत्यका विकास प्राधिकरणबाट साढे ६ हजार हाउजिङ विकास, साढे १५ हजार अपार्टमेट आयोजनाहरुले स्वीकृति लिएका थिए ।  कोभिडपछि अर्थतन्त्र पुनरुत्थान गर्न राष्ट्र बैंकले प्रणालीमा सहज रुपमा तरलता प्रवाह गर्ने नीति लिएको थियो । सो नीतिका कारण बैंक तथा वित्तीय संस्थाको लगानी घरजग्गामा गएको आकलन गरिएको छ ।

प्रणालीमा भएको स्रोत घरजग्गा र रियल स्टेटमा गएपछि संस्थाहरूले गत वर्षदेखि तरलता अभावको सामना गरिरहेका छन् । बैंकिङ प्रणालीको रकम अनुत्पादक क्षेत्रमा गएको आकलन सहित राष्ट्र बैंकले यस क्षेत्रमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई घरजग्गामा लगानी गर्न गरेको कडाइका कारण ऋण पाउन थप समस्या भएको व्यवसायीको भनाइ छ । हालसम्म घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५ खर्ब ८० अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

वित्तीय संस्थाहरूले घरजग्गामा हालसम्म लगानी गरेको सो रकम मध्ये ३ खर्ब ४७ अर्ब व्यक्तिगत आवास निर्माणमा प्रवाह भएको छ । यसैगरी, २ खर्ब ३३ अर्ब जग्गा प्लटिङ, अपार्टमेन्ट निर्माण र व्यवसायीक कम्पलेक्स निर्माणमा संस्थाहरूले लगानी गरेका छन् ।

घरजग्गा क्षेत्रमा संस्थाहरूले लगानी गरेको कर्जा कुल कर्जाको १२ प्रतिशत हिस्सा हो । यस अवधिसम्म वित्तीय संस्थाहरूले कुल ४८ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

राष्ट्र बैंकको नीतिगत कडाइका बाबजुत घरजग्गामा संस्थाहरूको लगानी बढ्दो छ । लगानीको न्यून जोखिममा प्रतिफल आइरहने र अनुत्पादक भए पनि सुरक्षित व्यवसाय मानिने भएकाले यस्ता क्षेत्रमा वित्तीय संस्थाले सहजै ऋण प्रवाह गर्ने गरेका छन् ।

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड Read Next

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड